Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पस, पोखराको ६३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपालको पश्चिम क्षेत्रकै गौरवशाली शैक्षिक इतिहास बोकेको क्यू.ए.ए. प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पस, पोखराको ६३ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रवार भव्य रूपमा सम्पन्न भयो । क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाको अध्यक्षता रहेको उक्त समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले झण्डोत्तोलन गरी रुद्राक्षको बिरुवा रोप्नाका साथै कलात्मक पानसमा दीप प्रज्वलन गरी विधिवत् रूपमा कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उहाँले नेपालको पश्चिम क्षेत्रमा लामो समयदेखि स्थापना भएर बजारको मागअनुसारका उत्कृष्ट शैक्षिक कार्यक्रममार्फत मुलुक हाँक्ने राजनेता, प्रशासक, प्राध्यापक, शिक्षक, अधिवक्ता, व्यवस्थापक, साहित्यकार, कलाकार, पत्रकार, संस्कृतिविद्, अनुसन्धाता, समाजसेवी, गायक र नायकजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरू जन्माएको पृथ्वीनारायण क्याम्पसको समारोहमा सहभागी हुन पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताउँदै यसको खुलेरै प्रशंसा गर्नुभयो । 

विद्यार्थीसङ्ख्या तथा साधनस्रोतका हिसाबले नेपालकै ठूलो क्याम्पसका रूपमा परिचित यस क्याम्पसले पहिलो पटक प्रतिवेदनमार्फत क्याम्पसका गतिविधि प्रस्तुत गरेकामा पनि प्रसन्नता व्यक्त गर्नुभयो । यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले अब तत्कालै नयाँ सम्बन्धन नदिने बरु भएका आङ्गिक क्याम्पसलाई नै सबलीकरण गर्ने नीति लिएको कुरा बताउनुभयो । त्रि.वि. मा अवास्तविक विद्यार्थीले दु:ख दिइरहेको कुरा पनि त्यस अवसरमा जानकारी गराउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयमा हालै भएका सुधारका कार्यहरूले विद्यार्थीहरू थप लाभान्वित हुन सक्ने अवस्था रहेको बताउनुभयो । वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसका नीति तथा कार्यक्रम, क्याम्पसका सबल पक्षहरू, अवसर, चुनौती र भावी योजनाका बारेमा प्रकाश पार्दै विगत दुई वर्षमा सम्पन्न भएका विकासनिर्माणका कार्यका साथै आगामी वर्षमा सञ्चालन हुने कार्ययोजनासहितको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै उत्कृष्टता र आवश्यकताका आधारमा उच्च शिक्षा प्राप्त गर्ने सबैको अधिकार सुरक्षित गर्न क्याम्पस परिवार प्रतिबद्ध भएको कुरा व्यक्त गर्नुभएको थियो । सहायक क्याम्पस प्रमुख निर्मलकुमार कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ, पृथ्वीनारायण क्याम्पस एकाइका सभापति डा. लक्ष्मीशरण अधिकारीले क्याम्पसको विकासका लागि सबै मिलेर लाग्नुपर्ने विचार राख्दै प्राध्यापकका समस्याका बारेमा जानकारी गराउनुभएको थियो भने त्रि.वि. कर्मचारी सङ्घ, पृथ्वीनारायण क्याम्पस एकाइका सभापति नवराज बास्तोलाले सरोकारीहरू मिलेर क्याम्पसका चुनौतीहरूको सामना गर्न कर्मचारीसँग सहकार्य गर्दै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने परम्परालाई सधैँका लागि बन्द गर्नुपर्ने धारणा राख्नुभयो । त्यसै गरी पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष शाहारा प्रधानले क्याम्पसको विकासनिर्माणमा पोखरा महानगरपालिका वडा नं. १ सहयोगीको भूमिका निर्वाह गर्न सदा तत्पर रहेको कुरा व्यक्त गर्नुभयो । 

समारोहमा क्याम्पसले विभिन्न सङ्काय तथा संस्थानमा सर्वाेत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रछात्राहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा क्याम्पसका स्नातक तहका विद्यार्थीहरूले विभिन्न भेषभूषाका साथमा नेपाली संस्कृति झल्किने आकर्षक लोक तथा आधुनिक नृत्यहरू प्रस्तुत गरेका थिए । 

अङ्ग्रेजी शिक्षा विभागको जर्नलको विमोचन पनि गरिएको उक्त कार्यक्रममा संस्थापक प्रिन्सिपल जोर्ज जोनका साथै पूर्वक्याम्पस प्रमुखहरू,  क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू, जनप्रतिनिधिहरू तथा त्रि.वि. का आङ्गिक क्याम्पसका प्रमुखहरूलगायतका विशिष्ट बौद्धिक व्यक्तित्वहरूका साथै विद्यार्थी, अभिभावक तथा पत्रकारहरूको गरिमामय समुपस्थिति रहेको थियो । पृथ्वीनारायण क्याम्पसको सभाहलमा करिब तीन घण्टा चलेको उक्त कार्यक्रमको सञ्चालन, धन्यवादज्ञापन र सभाविसर्जन भएको घोषणा क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले गर्नुभएको थियो । 

Published by: Administration
Published on 2022-09-04

Download Full Text