Prithvi Narayan Campus, Pokhara, Nepal

पठनपाठन संचालन गर्ने सम्वन्धी जरुरी सूचना !

यस पृथ्वीनारायण क्याम्पस देशकै धेरै संख्यामा विद्यार्थीहरुले पठनपाठन गर्ने शैक्षिक संस्था हो । सैयौं प्राध्यापक तथा कर्मचारीहरु कार्यरत यस गौरवशाली संस्थामा लामो समयदेखि आंशिक शिक्षकको रुपमा काम गर्दै आउनुभएका आंशिक शिक्षकहरुले विगत दुई वर्षदेखि आफ्ना पेसागत माग राखेर आन्दोलन गर्दै आउनुभएको छ । यिनै कुराहरुलाई केन्द्रमा राखेर विभिन्न चरणमा क्याम्पस प्रशासनकै पहलमा नेपाल प्राध्यापक संघ, त्रि.वि.प्राध्यापक संघ केन्द्र तथा पृथ्वीनारायण क्याम्पस एकाइ, विभिन्न वैचारिक संघ संगठनहरु एवं विभिन्न विद्यार्थी संगठनहरुमार्फत त्रि.वि.केन्द्रीय प्रशासनमा जोडदार आवाज उठाइरहेको व्यहोरा सवैलाई अवगत नै छ । यस क्याम्पसले अतिरिक्त कक्षा पारिश्रमिकसम्बन्धी ब्यवस्था भएबमोजिम आन्तरिक करारका लागि केन्द्रीय प्रशासनमा लिखित रुपमा प्रस्ताव पेश गरिसकेको छ । क्याम्पसले आफ्नोतर्फबाट गर्नुपर्ने पहल पूर्ण रुपमा गर्दा गर्दै यसको सम्बोधन केन्द्रबाट हुन सकेको छैन । आंशिक शिक्षकका पेसागत मागहरुप्रति सम्बोधन गर्ने निकाय यस क्याम्पस नभएको र त्रि.वि.केन्द्रीय नेतृत्व मात्र भएको हुनाले यस कठिन घडीमा क्याम्पसको साख बचाउनको लागि क्याम्पस प्रशासन हरसम्भव प्रयत्न गर्नु आफ्नो कर्तव्य ठान्दछ । यही समस्यामा केन्द्रित रहेर मिति २०७८।०८।०९ गतेको पृथ्वीनारायण क्याम्पसको स्टाफ मिटिङको कार्यदिशा र मिति २०७८।०८।१० गतेको विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुको राय, सल्लाह र सुझावबमोजिम क्याम्पस प्रशासन अगाडि बढ्न तयार रहेको कुरा पनि जानकारी गराउन चाहन्छौं ।
अतः सम्पूर्ण आंशिक शिक्षकहरुलाई आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु(क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी, क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध तथा पठनपाठन बहिस्कार)लाई फिर्ता लिई आन्दोलनको स्वरुप परिवर्तन गरेर मिति २०७८।०८।१२ गतेदेखि आफूलाई तोकिएको कक्षाभार ग्रहण गरी क्याम्पसका शैक्षिक कार्यक्रमहरुलाई सहजरुपमा अगाडि बढाउन सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । त्रिभुवन विश्वविद्यालयको अतिरिक्त कक्षा पारिश्रमिक निर्देशिकाबमोजिम मिति २०७८।०८।१७ भित्र कोर्ष सम्झौता गरी आफ्नो कार्यक्षेत्रमा सम्लग्न हुन सम्पूर्ण आंशिक शिक्षकहरुलाई क्याम्पस प्रशासन आव्हान गर्दछ । यदि तोकिएको मितिभित्र कोर्ष सम्झौता गर्न यहाँहरु तयार नभएमा त्रि.वि.ऐन, नियम, विनियम, निर्देशिका र कार्यविधिबमोजिम हुनेगरी विकल्पमा जान क्याम्पस प्रशासन बाध्य हुने ब्यहोरासमेत जानकारी गराउन चाहान्छौं । कोर्ष सम्झौता गर्दा आफ्नो विषयका विभागीय प्रमुखमार्फत आउनुहुन समेत अनुरोध छ ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-11-26

Download Full Text