Prithvi Narayan Campus, Pokhara, Nepal

QAA (गुणस्तरको प्रमाणपत्र) संगै ६ करोड २८ लाख रुपैयाँ प्राप्त

त्रि.वि. — पृ.ना.क्या., साउन १२ – पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) को प्रमाणपत्र प्राप्त गरेवापत पाउने अनुदान रकम हालै प्राप्त भएको छ ।  अनुदान रकम उत्तिर्ण विद्यार्थीको संख्याका आधारमा पाइने र सो रकम ६ करोड २८ लाख रहेको छ ।

QAA/Reform Unit का निर्देशक डा. मीन पुनका अनुसार सो अनुदान रकम क्याम्पसले प्रदान गरिने शिक्षामा गुणस्तर ल्याउनका लागी भौतिक, शैक्षिक, प्राज्ञिक र अन्य गतिविधिहरु सञ्चालनमा खर्च गरिने छ र सो रकम ६ महिनाभित्र खर्च गरिसक्नु पर्ने छ ।

डा. मीन पुनका अनुसार, अनुदान रकम इ–लाइबे्ररी स्थापना, भिडियो कन्फेरेन्सीङ्ग सञ्चालन, ICT Centre स्थापना, अनुसन्धान, सभा गोष्ठी सञ्चालन, भवन मर्मत सम्भार, पुस्तकहरु खरीद लगायतमा खर्च गरिने छ । अनुसन्धानका लागी १ करोड रुपैयाँको अक्षय कोष खडा गरिने छ । त्यसैगरी अर्को ५० लाख रुपैयाँको अक्षय कोष खडा गरी व्याजबाट आउने रकमलाई सेमिनार गोष्ठी सञ्चालन गर्नमा खर्च गरिने छ । बाँकी सबै अनुदान रकमलाई क्याम्पसको समग्र विकासका लागी खर्च गरिने छ ।

यी माथि उल्लेखित अनुदान रकमको खर्च गर्न बजेट तयार गरी क्याम्पस कार्यसमितिबाट अनुमोदित भई विश्वविद्यालय अनुदान आयोगबाट पारित भएपछि मात्र खर्च गरिने प्रावधान छ । अनुदान रकमको खर्च आयोगबाट पारित बजेटमा उल्लेख गरिए अनुसारको शीर्षकहरुमा मात्र खर्च गरिनु पर्ने र सो अनुसार र तोकिएको समयमा खर्च भए/नभएकोबारे आयोगबाट अनुगमन गर्ने व्यवस्था छ ।

क्याम्पसमा QAA को प्रक्रिया सुरु भएपछि करीब डेढ वर्षयताको अवधिमा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट करीब १४ करोड रुपैयाँ विविध शीर्षकमा प्राप्त गरेको छ ।

स्मरण रहोस् गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) को प्रमाणपत्र सन् २०१९ को जनवरी महिनामा प्राप्त भएको थियो ।

Published by: Administration
Published on 2019-07-28

Download Full Text