Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पस वर्षको उत्कृष्ट क्याम्पस घोषित

त्रि.वि.–पृ.ना.क्या., भदौ २४ – पृथ्वीनारायण क्याम्पस देशभरिको आंगिक क्याम्पसहरुमध्ये यो वर्षको उत्कृष्ट क्याम्पस घोषित भएको छ । प्रत्येक वर्ष देशभरिका क्याम्पसहरुको शैक्षिक उत्कृष्टता र प्रतिस्पर्धाका आधारमा उत्कृष्ट क्याम्पस छनौट गरि पुरस्कृत गरिने परम्परा छ ।

२०७५ सालको शिक्षा दिवसको उपलक्ष्यमा नेपाल सरकारबाट यो घोषणा गरिएको हो । घोषणासंगै उत्कृष्ट क्याम्पसको प्रमाणपत्रसहित नगद पुरस्कारसमेत सो दिवसको उपलक्ष्यमा प्रदान गरिएको थियो ।

पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र माननीय शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सयुक्त रुपमा प्रदान गर्नुभएको थियो । दिवसको आयोजना काठमाण्डौंमा अवस्थित कमलादीको प्रज्ञा प्रतिष्ठानमा गरिएको थियो ।

सो पुरस्कार थाप्न क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा, सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी, आर्थिक प्रशासन प्रमुख कविराज तिवारी र QAA/Reform Unit का संयोजक डा. मीन पुन काठमाण्डौं जानुभएको थियो ।

यो पुरस्कारले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने QAA (गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्नमा समेत सहयोग गर्ने छ, क्याम्पस प्रमुख थापाको भनाई थियो ।

हरेक वर्ष विश्वविद्यालय अनुदान आयोगको छनौटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आंगिक, सामुदायिक र निजी क्याम्पस गरि १/१ क्याम्पसलाई घोषणासहित नगद र प्रमाणपत्रले पुरस्कृत गर्दछ ।

त्यसैगरि सामुदायिक क्याम्पसहरुमध्ये लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र निजी क्याम्पसहरुमध्ये मनमोहन स्मृति स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट घोषित भएका थिए ।

त्यसैगरि विद्यालयतर्फ देशभरिका सामुदायिक र संस्थागत विद्यालयहरुमध्येबाट वर्षका प्रथम, द्धितीय र तृतीय उत्कृष्ट हुने विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको थियो । सोही अवसरमा महाविद्यालयहरुतर्फ उत्कृष्ट प्रथम, द्धितीय र तृतीय संस्थाहरुलाई पनि पुरस्कृत गरिएको थियो । स्मरण रहोस् संयोगवश यस वर्षका उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयहरुमध्ये ४ वटा संस्थाहरु पोखराका रहेका थिए । जसमध्ये आंगिक क्याम्पसतर्फ पृथ्वीनारायण क्याम्पस, उच्च माध्यामिक तहको शिक्षातर्फ अमरसिंह उच्च माध्यामिक विद्यालय, सामुदायिक विद्यालयतर्फ शितलादेवी उच्च माध्यामिक विद्यालय र निजी विद्यालयतर्फ मदरल्याण्ड उच्च माध्यामिक विद्यालय उत्कृष्ट घोषित भएका थिए ।

यसै सन्दर्भमा कास्की जिल्ला समन्वय समितिले समेत संविधान दिवस २०७५ को अवसरमा कास्की जिल्लाबाट यस वर्ष उत्कृष्ट भएका क्याम्पस तथा विद्यालयहरुलाई सम्मानस्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरेको थियो । सो पुरस्कार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गर्नुभएको थियो ।

Published by: Administration
Published on 2018-09-25

Download Full Text