Prithvi Narayan Campus, Pokhara, Nepal

नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय सङ्गोष्ठी विविध कार्यक्रमसहित सुसम्पन्न

त्रि.वि.–पृ.ना.क्या., चैत्र ४ – नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखराको आयोजनामा मिति २०७४ चैत्र ३ र ४ गते गरी दुई दिनमा सञ्चालित “नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय सङ्गोष्ठी”सोही विभागका प्रा.डा. कुसुमाकर न्यौपानेको सयोजकत्वमा विविध कार्यक्रमसहित सुसम्पन्न भएको छ ।

चैत्र ३ गते बिहान सहभागी सबैलाइै पोखराका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा सामाजिक स्थलको अवलोकन गराइएको थियो । अवलोकन भ्रमणपछि सहभागी सबैलाई कार्यक्रमको उद्घाटनस्थल पृथ्वीनारायण क्याम्पसको मूल ढोकामा फूलमाला तथा बाजागाजाका साथ स्वागत गरिएको थियो । कतिपय सहभागीहरू नौमती बाजाका तालमा नाच्नुभएको थियो ।

पहिलो दिनको कार्यक्रममा १०.३० बजेबाट १ बजेसम्म उद्घाटन कार्यक्रम सञ्चालन भएको थियो । उद्घाटन सत्रको अध्यक्षता सोही विभागका अध्यक्ष सहप्राध्यापक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको उपस्थिति रहेको थियो । यस्तै अतिथिका रूपमा प्रा.डा. चूडामणि बन्धु, कृषि तथा वन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्रा.डा. रामनाथ ओझा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतको मानविकी र सामाजिक शास्त्र संकायका डीन प्राध्यापक खोपीराम लम्साल, त्रिवि नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाका वर्तमान अध्यक्ष पदम विश्वकर्मा, पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, भुटानका प्रतिनिधि एच.बी. विश्व, बङ्गलादेशका प्रतिनिधि स्वेदा रुक्साना जमन सानु, भारतका प्रतिनिधि भूपेन्द्र अधिकारी र पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापालगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको सुरूवात गायिका तथा साहित्यकार हरिदेवी कोइरालाको स्वागत गीतबाट गरिएको थियो । लगतै प्रमुख अतिथि प्रा.डा. तीर्थ खनिया र विशिष्ट अतितिले सयुक्त रुपमा पानसमा दीपप्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक प्रा.डा. कुसुमाकर न्यौपानेले कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नुका साथै २०६८ सालमा आफ्नै संयोजकत्वमा नेपाली लोकसाहित्य राष्ट्रिय सङ्गोष्ठी गरिएको र त्यस संङ्गोष्ठीले सातौं वर्ष पार गर्दा प्रत्येक वर्ष एउटा सङ्गोष्ठी गरिएको र विभिन्न अध्येताहरू उत्पादन गर्नुका साथै गोष्ठीपत्रको संग्रह प्रकाशित गरेर योगदान पुर्याएकोमा गर्व गर्नुभएको थियो ।

कार्यक्रमको सफलताको शुभकामनास्वरूप कुलपति सरुभक्तले आधुनिक साहित्यको जग लोकसाहित्य र लोकसाहित्य आदिम संस्कृतिको दस्तावेज हो भन्ने धारणा राख्दै यसको संरक्षण र विकासका निम्ति आफू लागिपर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रमुख अतिथि उपकुलपति खनियाले कार्यक्रमको सफलताको शुभकामना दिदै त्रिविअन्तर्गत छुट्टै लोकवार्ता विभाग गठन गर्नमा त्रिवि प्रशासनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । नेपाली भाषालाई अझ स्तरीकरण गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो । 

शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष विश्वकर्मा र त्रिवि नेपाली केन्द्रीय विभागका अध्यक्ष प्रा.डा. गौतम हुनुहुन्थ्यो ।

२०७४ चैत्र ३ गतेका दिन पृथ्वीनारायण क्याम्पसमा र ४ गते नेपाल टुरिजम् एन्ड होटेल म्यानेजमेन्ट कलेजमा गोष्ठी सञ्चालन गरिएको थियो । विविध शीर्षकमा २० वटा गोष्ठीपत्र प्रस्तुत भएका थिए । प्रस्तुत गरिएका गोष्ठीपत्र प्रस्तोता, गोष्ठीपत्रका शीर्षक, टिप्पणीकर्ता र छलफलमा प्रश्न तथा सुझाव दिनेको विवरण समेत प्रस्तुत गरिएको थियो ।

गोष्ठीपत्र प्रस्तुत गर्ने प्रस्तोता र प्रस्तुत गरिएका शीर्षक यसप्रकार रहेका थिए । प्रा.डा. कपिलदेव लामिछानेले “नेपाली गाउँखाने कथाको अध्ययन परम्परा”, महेश्वर पन्तले “अमेरिकामा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, प्रा.डा. मोतीलाल पराजुलीले “नेपाली लोककथाको अध्ययन परम्परा”, डा. डपछिरिङ लेप्चाले “सिक्किममा नेपाली  लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, रामशरण सापकोटाले “नेपालका भाषा र सम्बैधानिक व्यवस्था”, डा. ध्रुबप्रसाद भट्टराईले “नेपाली कविताको अध्ययन परम्परा”, डा. मुकुन्द शर्माले “नेपाली कविताको अध्ययन परम्परा”, प्रा.डा. कुसुमाकर न्यौपानेले “नेपाली लोकगीतको अध्ययन परम्परा”, ठाकुर गोरगाईले “बर्मामा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, ज्ञानेन्द्र सुब्बाले “दार्जिलिङ र डुबर्समा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, प्रा.डा. चूडामणि बन्धुले “नेपाली लोकनाटकको अध्ययन परम्परा” र डा. शिवप्रसाद पौडेलले “नेपाली उखानको अध्ययन परम्परा” शीर्षकमा आ–आफ्नो प्रस्तुती दिनुभएको थियो ।

त्यसै गरी भूपेन्द्र अधिकारीले “देहरादुनमा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, एच.बी. विश्वले “भुटानमा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा”, Syeda Rukhsana Zaman Shanu ले “Folk Literature”, प्रा.डा. हिरण्यलाल ज्ञवालीले “नेपाली लोकमन्त्रको अध्ययन परम्परा”, विवेक क्षत्रीले “सिक्किमका गन्धर्व जातिमा प्रचलित नेपाली लोक साहित्यको अध्ययन परम्परा”, डा. ध्रुव घिमिरेले “नेपाली भाषाका टुक्काको अध्ययन परम्परा”, डा. खेमराज नेपालले “पूर्वोत्तर भारतको नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा” र मित्रदेव शर्माले “आसाममा नेपाली लोकसाहित्यको स्थिति र अध्ययन परम्परा” शीर्षकमा आ–आफ्नो प्रस्तुती दिनुभएको थियो ।

चैत्र ३ र ४ गतेको विभिन्न शीर्षकका गोष्ठीपत्र प्रस्तुतिपछि समापन कार्यक्रम गरिएको थियो । समापन सत्र पोखराको छिनेडाँडामा स्थित नेपाल टुरिजम् एन्ड होटेल म्यानेजमेन्ट कलेजको सभाकक्षमा भएको थियो । समापनसत्रको अध्यक्षता पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा प्रा.डा. चूडामणि बन्धुले गर्नुभएको थियो ।

Published by: Dept of Nepali
Published on 2018-05-17

Download Full Text