Prithvi Narayan Campus, Pokhara, Nepal

अनुसन्धान विकास कार्यक्रमको कार्यविधि–२०७४/७५ पारित

त्रि.वि. — पृ.ना.क्या., बैसाख २६ —पृथ्वीनारायण क्याम्पसअन्तर्गत रहेको अनुसन्धान समितिले शैक्षिक वर्ष २०७४/७५ का लागि बनेको अनुसन्धानसम्बन्धी गतिविधिलाई निरन्तरता दिने उद्देश्यले “अनुसन्धान विकास कार्यक्रमको कार्यविधि” लाई हालै कार्यान्वयनमा ल्याएको छ ।

कार्यविधिमा उल्लेख गरिए अनुसार यस शैक्षिक वर्षमा शिक्षकका लागि १५ वटा लघु अनुसन्धान अनुदान, विद्यार्थीका लागि २० थेसिस र प्रोजेक्ट रिपोर्ट लेखन अनुदान र पियर रिभ्युड जर्नल प्रकाशन लगायतका गतिविधिहरु रहेका छन् । त्यसरी नै अनुसन्धान समितिले यस शैक्षिक वर्षका लागि सेमिनार गोष्ठी तथा कार्यशालाको आयोजना समेत गर्नेछ ।

अनुसन्धान समिति सूत्रका अनुसार पूर्णकालीन शिक्षकका लागि दिइने १५ वटा लघु अनुसन्धान अनुदानमध्ये ५ वटा अनुसन्धान अनुदान विद्यावारिधि गरेका शिक्षकहरुलाई दिइनेछ । यस प्रकारको अनुदानका लागि समुहमा अनुसन्धान गर्नुपर्ने हुन्छ र आंशिक शिक्षकहरुलाई समेत संलग्न गर्न सकिने छ ।

विद्यार्थीका लागि दिइने २० थेसिस र प्रोजेक्ट रिपोर्ट लेखन अनुदान थेसिस र प्रोजेक्ट रिपोर्ट तयार गर्न सम्बन्धित विभागबाट प्रस्ताव पास गरेका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई प्रतिस्प्रर्धा गराई छनौट गरी प्रदान गरिनेछ ।

अनुदान पाउने शिक्षक तथा विद्यार्थीहरुले अनुदान सम्झौता भएको ६ महिनाभित्र अनुसन्धान सम्पन्न गरि सक्नुपर्ने छ ।

कार्यविधिमा उल्लेख गरिए अनुसार पियर रिभ्युड जर्नल प्रकाशनका लागि आवश्यक पर्ने अनुसन्धानात्मक लेखहरु देश विदेशका लेखकका लागि खुला गरिएको छ । यसका लागि प्राप्त लेखहरुलाई २ वटा ब्लाइन्ड रिभ्यू गराई मेरिटलिष्ट तयार गरी एक पटकको प्रकाशनमा १० वटा लेखहरुमात्र छनौट गरिनेछ ।

पारित भएको “अनुसन्धान विकास कार्यक्रमको कार्यविधि–२०७४/७५” लाई जानकारीका लागि विश्वविद्यालय अनुदान आयोग, भक्तपुरमा पठाई सकिएको छ ।

Published by: Research Committee
Published on 2018-05-09

Download Full Text