Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसमा विज्ञान तथा प्रविधिको विकाससम्बन्धी एकदिवसीय परामर्श गोष्ठी सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., असौज ९ – विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र पृथ्वीनारायण क्याम्पसको सहकार्यमा “नेपालमा विज्ञान तथा प्रविधिको विकासः वर्तमान स्थिति र भविष्यको संभावना” विषयक एकदिवसीय परामर्श गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा आर्थिक समृद्धिका लागि वैज्ञानिक अनुसन्धान, प्रविधि विकास तथा आविष्कारको भूमिकाबारे बृहद छलफल भयो ।

नयाँ नेपालको नयाँ संरचनामा विज्ञान तथा प्रविधिको विकास माथि छलफल गर्दै सहभागीहरु बीच प्रदेश ४ को सम्भावनाका साथै चुनौतीका विषयमा पनि विचार विमर्श गरियो ।

प्राकृतिक स्रोतका हिसाबले प्रदेश ४ मा विद्यमान भौगोलिक विविधता, जलस्रोतमा सम्भावना, कृषिमा विविधता र पर्यावरणीय पर्यटनको यथेष्ठ अवसर विद्यमान रहनुका साथै उच्च शिक्षा र अनुसन्धानशाला सञ्चालनको लागि पनि ठूलो संभावना रहेको कुरा छलफलमा संलग्न विज्ञहरुले औंल्याँउनु भएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नु भएका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. संजय शर्माले विज्ञान तथा प्रविधिको विकास गर्न नीति मात्र नबनाई रणनीति एवं कार्ययोजना नै तयार गर्न मन्त्रालय अगाडि बढिरहेको हुँदा सबै पक्षबाट उचित सहयोगको अपेक्षा गर्नुभयो ।

नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले प्रान्त स्तरबाटै विज्ञान तथा प्रविधिको विकासका लागि नास्टले देशका सातवटै प्रान्तमा आधुनिक प्रयोगशाला स्थापना गर्ने क्रममा   गत आर्थिक वर्षमा सात नं प्रदेशमा कार्यालय स्थापना गरिएको जानकारी दिंदै समय सापेक्ष विज्ञान प्रविधिलाई गति दिन नास्ट दत्तचित्त रही कार्यगर्दै रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. विनायक भद्रा, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्राचार्य जर्ज जोन र पूर्व क्याम्पस प्रमुख प्रा. विश्वराज अधिकारीले देशको सर्वांङ्गीण विकासको लागि विज्ञान तथा प्रविधिको विकास अनिवार्य रहने कुरा माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको प्रारम्भमा छलफलका लागि नास्टका प्राज्ञ डा. दिनेशराज भुजुले आर्थिक समृद्धिका लागि विज्ञान तथा प्रविधि एवं आविष्कारको भूमिका बारे प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रमको प्रारम्भमा पृथ्वीनारायण क्याम्पसको तर्फबाट यसै क्याम्पसमा प्राध्यापनरत जीवन रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त परामर्श गोष्ठीमा पोखरा क्षेत्रमा रहेका सरकारी निकायका प्रमुख, प्राज्ञिक एवं शैक्षिक संस्थाका प्रमुख र सरोकारवाला पक्षहरुसमेत गरी ७२ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा ६ वटा विभिन्न विधाहरु कृषि, वन, ऊर्जा, स्वास्थ्य, शिक्षा र वातावरणमा समूहगत छलफल गरी रिपोर्टिङसमेत गरिएको थियो ।

Published by: Institute of Sc. & Tech
Published on 2017-09-26

Download Full Text