Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको स्वायत्तताका लागि विश्व बैंकको लगानीबारे बहस

त्रि.वि.–पृ.ना.क्या., चैत्र २५ — पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त बनाउनेसम्बन्धी एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रम लेकसाइडमा रहेको होटल बाराहीमा क्याम्पस प्रमुख प्रा.डा. देबेन्द्रबहादुर लामिछानेको अध्यक्षतामा र सांसद रविन्द्र अधिकारीका प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापक कर्मचारीहरु र विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कास्की जिल्ला ४ नम्बर क्षेत्रका सांसद रविन्द्र अधिकारीले पोखरा विश्वविद्यालयको जन्मदेखि आजसम्म पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने बहस चलिआएको तर बहसले सार्थकता नपाएको बारे गुनासो गर्नुभयो । यसको जिम्मेवारी क्याम्पसकै पदाधिकारी र प्राध्यापकले लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।  वहाँले शिक्षा क्षेत्रमा पृथ्वीनारायण क्याम्पस पश्चिमाञ्चल क्षेत्रमा आकर्षणको ठलो र सम्भाव्यता भएतापनि त्यसको सहि उपयोग नभएकोले अब आँट गर्नुपर्छ भन्नुभयो ।
 
अन्तक्र्रियालाई सम्पन्न गर्नका लागि त्रिवि उच्च शिक्षा सुधार परियोजनाका संयोजक शंकर भण्डारी र विश्व बैंकका प्रतिनिधि नेपालसम्बन्धी मामलाका निर्देशक प्रा.डा. मोहन आचार्यले सयुक्त रुपमा त्रिविका आंगिक क्याम्पसको स्वायत्तताबारे छलफल गराउनु भएको थियो । त्रिविका आंगिक क्याम्पसलाई स्वायत्त बनाउनेसम्बन्धी त्रिविको व्यवस्थाबारे संयोजक भण्डारीले र विश्व बैंकले नेपालको उच्च शिक्षासम्बन्धी लगानीकोे व्यवस्था र औचित्यबारे प्रकाश पार्नु भएको थियो ।

निर्देशक प्रा.डा. आचार्यले विश्व बैंकले नेपालको उच्च शिक्षासम्बन्धी लगानीकोे व्यवस्था र औचित्यबारे बोल्दै अहिलेको विश्व परिवेशमा उच्च शिक्षालाई गुणस्तरका साथै प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । सोका लागि विश्व बैंकसंग नेपाल सरकारले उच्च शिक्षा परियोजनाका लागि हस्ताक्षर गरेको जानकारी दिनुभयो । वहाँले प्रत्येक वर्ष विश्व बैंकको बजेटको करीब १७ प्रतिशतमात्र यस क्षेत्रमा लगानी भएको र बाँकी ८३ प्रतिशत फ्रीज भई अरबौं रुपैया फिर्ता गई खेर जाने गरेको आँकडा समेत दिनुभयो ।  

अर्का वक्ता त्रिवि परियोजनाका संयोजक भण्डारीले त्रिविका आंगिक क्याम्पसलाई स्वायत्त बनाउनेसम्बन्धी त्रिविको व्यवस्थाबारे बोल्दै आंगिक क्याम्पसहरु स्वायत्ततामा नगए उच्च शिक्षालाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन नसकिने बताउनु भयो । वहाँले स्वायत्ततामा जान थुपै चुनौतीहरु भएतापनि त्यसलाई बहसमा ल्याउनुपर्ने कुरा व्यक्त गर्नुभयो । वहाँले त्रिविका पदाधिकारीसहितको अर्को अन्तक्र्रिया छिट्टै गरिने जानकारीसमेत दिनुभयो ।

मन्तव्य व्यक्त गर्ने दलका प्रथिनिधिहरुमा नेपाली कांग्रेसका विजयराज आचार्य, माओवादी केन्द्रका दीपक कोइराला, र विप्लव माओवादीका जगन तिवारी हुनुहुन्थ्यो ।

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त बनाउनेसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा यस क्याम्पसलाई विश्वविद्यालयमा परिवर्तन गर्नुपर्नेसमेत बहस भएको थियो ।  

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा.डा. लामिछानेले चुनौतीका वाबजूद क्याम्पसलाई स्वायत्त बनाउदै विश्वविद्यालयमा परिवर्तन गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यसैगरि, मन्तव्य दिने प्राध्यापकहरुमा प्रा.डा. दीलबहादुर क्षेत्री, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, प्रा.डा. वेदनाथ शर्मा, प्रा. राजेन्द्र तिवारी, कमल पौडेल, हुतराज शर्मा, बाबुराम पौडेल, दीपेन्द्र पराजुली, परशुराम कोइराला, यादवराज उपाध्याय, कालिदास शर्मा र विरबहादुर कार्की हुनुहुन्थ्यो ।

साथै सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Published by: Administration
Published on 2017-04-07

Download Full Text