Prithvi Narayan Campus, Pokhara, Nepal

 Blog



पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान एवं प्रकाशनसम्बन्धी गतिविधिहरुको सिंहावलोकन

प्रा.डा. दिलबहादुर क्षेत्री

Published on 2016-01-03

ऐतिहासिक पृष्ठभूमि
पोखरा उपत्यका विश्वकै एक रमणीय एवं मनोरम पर्यटकीय केन्द्रका रुपमा स्थापित उपत्यका हो। यो उपत्यका हिमाली–पहाडी स्थलाकृत कञ्चन नदी प्रवाह, स्वच्छ तालतलैया, स्वच्छ एवं आनन्ददायी मौसम, मनोरम प्रकृतिको एक सुन्दर संगमस्थल हो। सांस्कृतिक विभिन्नताले सम्पन्न यो उपत्यका विभिन्न जाति–जनजाति समुदायको सौहार्द केन्द्र स्थल हो। पोखरा उपत्यका वास्तवमा विकासका दृष्टिले असीमित संभावनाहरुले युक्त उदीयमान केन्द्र पनि हो (श्रेष्ठ र अन्य, २०६४:१)। पूर्वाधार विकासका विभिन्न पहलहरुमध्ये शैक्षिक क्रियाकलाप विकासका लागि यहाँ विगत दशकौँदेखि उल्लेखनीय पहल र भूमिका निर्वाह भएको पाइन्छ। शिक्षाको विकास र प्रवद्र्धनको पहलका क्रममा पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक ज्योति पुञ्ज र उच्च शिक्षा अध्ययन–अध्यापन केन्द्रका रुपमा वि.सं. २०१७ साल भाद्र १७ गते पृथ्वीनारायण कलेजको स्थापना भयो। स्थानीय बुद्धिजीजी साहूमहाजन एवं समाजसेवीहरुको पहल र सक्रियतामा ल्याइएको यो कलेजले आफ्नो भवन नभएका कारण तत्कालीन रत्नराज्यलक्ष्मी कन्या स्कुल, नदीपुरका कक्षाकोठाबाट अध्यापन कार्य प्रारम्भ ग¥यो। २ जना शिक्षक १३ जना विद्यार्थी र एकजना कर्मचारीबाट आफ्नो शैक्षिक यात्रारम्भ गरेको हालको पृथ्वीनारायण क्याम्पस तत्कालीन पृथ्वीनारायण कलेजको विधिवत् उद्घाटन भने वि.सं. २०१७ साल आश्विन ३ गते नारायणस्थान स्थित पौवामा कक्षा सञ्चालन गर्ने गरी तत्कालीन गृहमन्त्री श्री सूर्यप्रसाद उपाध्यायले गर्नुभएको देखिन्छ (रजतजयन्ती स्मारिका, २०४३ः ३)। यसरी स्थापनाकालको सुरुवातमा इन्टटरमिडियट कलेजका रुपमा स्थापना गरिएको तत्कालीन पृथ्वीनारायण कलेज अन्ततः पृथ्वीनारायण बहुमुखी क्याम्पसका रुपमा स्थापित मात्र नभई अहिलेको परिप्रेक्ष्यलाई दृटिगत गर्दा यसले आफैँमा एक अघोषित विश्वविद्यालयको रुपधारण गरिसकेको छ।

आफ्नो जग्गा र भवन नभएका कारण नदीपुरबाट अध्ययन–अध्यापन सुरुवात् गरिएको पृथ्वीनारायण कलेज मिति २०१९ वैशाख ३ गतेदेखि वर्तमान क्याम्पस रहेको स्थान भीमकालीपाटनमा आफ्नै टहरामा कक्षा अर्थात अध्ययन–अध्यापन कार्यारम्भ भएको देखिन्छ (रजतजयन्ती स्मारिका, २०४२ः ४)।

आइ.ए. (प्रवीणता पत्र तह) तहको अध्यापनबाट सुरुवात गरिएको पृथ्वीनारायण क्याम्पसले (पृथ्वीनारायण कलेज) आफ्नो जीवनमा हाल स्वर्णजयन्त्री मनाइसकेको छ। हाल यहाँ स्नातकोत्तर तहसम्म १७ विषयमा अध्यापन भइरहेको छ। स्नातकोत्तर तह अध्यापन हुने विषयहरु यस प्रकार छन्:
(१) अर्थशास्त्र
(२) अङ्ग्रेजी
(३) भूगोल
(४) जनसंख्या
(५) इतिहास
(६) राजनीतिशास्त्र
(७) नेपाली
(८) गणित
(९) व्यवस्थापन
(१०) भौतिकशास्त्र
(११) नेपाली शिक्षा
(१२) समाजशास्त्र/मानवशास्त्र
(१३) इपी.एम.
(१४) पाठ्यक्रम
(१५) स्वास्थ्य शारीरिक शिक्षा
(१६) अङ्ग्रेजी शिक्षा
(१७) गणित शिक्षा।

पोखरा उपमहानगरपालिका वडा नं. १, भीमकालीपाटन तथा पवित्र सेती नदीको किनारमा अवस्थित पृथ्वीनारायण क्याम्पसले ४९८–५–२१/२–०३/४ क्षेत्रफल र सेती किनारको अधिग्रहणधीन करिव २५० रोपनी क्षेत्रफल ओगटेको छ (श्रेष्ठ र अन्य, २०६४ः १)। क्याम्पसको भौतिक परिसरभित्र शिक्षाशास्त्र भवन, वातावरण शिक्षा भवन, शिक्षण समिति भवन, प्रशासकीय भवन, कला तथा व्यवस्थापन भवन, कानुन भवन, प्राध्यापक संघ भवन, स्नातकोत्रर भवन, विज्ञान भवन आई.एस्सी ल्याव, तथ्याङ्क शास्त्र भवन, पुस्तकालय, विज्ञान छात्रबास भवन, कन्या छात्राबास भवन, महिला छात्राबास भवन, पुरुष छात्रबास भवन, कर्मचारी संघ भवन, स्वास्थ्य केन्द्र भवन, स्व.वि.यु भवन, छात्र विश्राम गृह, क्याफ्टेरिया भवन, एवं प्राध्यापक आवास भवनहरु, मोटरसाइकल स्ट्याण्ड नेपालकै ख्याति प्राप्त म्युजियम (अन्नपूर्ण प्रकृति विज्ञान सङ्ग्राहलय) जो विशेष गरी विभिन्न जातका ठूलो संख्यामा पुतलीहरुको संकलन केन्द्रका रुपमा प्रख्यात छ। साथै सुलभ र नियमित पिउने पानीको श्रोतका रुपमा डिपवोरिङको समेत व्यवस्था छ। क्याम्पस ग्रिन स्पेस पार्क, खेलमैदान, स्वर्णजयन्त्री स्मृति भवनलगायतका भौतिक सुविधाहरुले सम्पन्न छ। यसका बावजुद् पनि विद्यार्थी संख्या र चापको अनुपातमा क्याम्पसको विद्यमान भौतिक सुविधा, साधन र स्रोतको अझै अभाव नै रहेको छ।

यस क्याम्पसमा ५ वटा सङ्काय — मानवविकी तथा सामाजिक, विज्ञान तथा प्रविधि, र व्यवस्थापनमा स्नातकोत्तर तहसम्म अध्यापन तथा अनुसन्धान कार्य हुने गर्दछ। प्रातःकालीनदेखि सन्ध्याकालीन कक्षा सञ्चालन हुने यस क्याम्पसमा २८ वटा विभागहरु छन्। शिक्षण सहायकदेखि प्राध्यापकसम्म करीब ६०० शिक्षकहरु र पियनदेखि प्रथम श्रेणीसम्मका कर्मचारी लगायत विभिन्न संकाय, विषय र तहमा गरी करीब १२,००० (क्याम्पस प्रशासनबाट प्रात तथ्याङ्क) विद्यार्थी अध्ययनरत छन्। देशका विभिन्न क्षेत्र (सुगमदेखि दुर्गम क्षेत्र) बाट समेत उच्च शिक्षा हासिल गर्न आउने र अध्ययन–अध्यापन गराउने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी संख्या र कार्यक्रमका दृष्टिले मुलुककै सर्वाधिक ठूलो शैक्षिक संस्था हो भन्न सकिन्छ। साथैै यसको ऐतिहासिक पृष्ठभूमि, भौतिक पूर्वाधार अवस्थिति, कार्यक्रम एवं मानवीय स्रोत साधनको दृष्टि समेतलाई मध्यनजर गर्दा पृथ्वीनारायण क्याम्पसको आफ्नो विशेष किसिमको स्पष्ट पहिचान र गरिमामय इतिहास छ। यसको प्रख्याति अर्थात् पहिचान मुलुकभित्र मात्र नभएर मुलक बाहिरको शैक्षिक जगत्मा समेत कायम रहेको यथार्थता जोकोहिले पनि स्वीकार्नु पर्दछ, यो वास्तविकता हो।

क्याम्पसको संस्थागत अनुसन्धान
यो छोटो ऐतिहासिक पृष्ठभूमि तथा संक्षिप्त परिचय पश्चात् लेखको शीर्षकलाई सम्बोधन गर्नतर्फ लाग्नु सान्दर्भिक ठानिन्छ। वास्तवमा कुनै पनि उच्चस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्था तथा विश्वविद्यालयको स्थापित पहिचान त्यस शिक्षण संस्था एवं विश्वविद्यालयको समयसापेक्ष अध्यापन तथा अनुसन्धानमा निर्भर रहन्छ। हामी सबैलाई जगजाहेरै भएको तथ्य हो कि विश्वका स्थापित जस्तो हावर्ड, केम्ब्रिज, अक्सफोर्ड लगायतका विश्वविद्यालयहरु आज जुन उचाइमा छन् तिनीहरुको उचाइ ती विश्वविद्यालयहरुको अध्ययन एवं अनुसन्धान गतिविधिको र सफलताकै परिणाम हो। अध्ययन र अनुसन्धान एक अर्काका पर्यायवाची शब्द हुन्। कारण अध्ययनविना अनुसन्धान र अनुसन्धानविना गहन एवं कंक्रिट नतिजा हाँसिल असम्भव हुन्छ। यहाँ यो पनि सत्यलाई नजरअन्दाज गर्न मिल्दैन कि गहन अध्ययन तथा नतिजामुखी अनुसन्धानका निम्ति अत्यावश्यक परिवेश, राज्यको शिक्षा नीति, साधन स्रोत र योग्य जनशक्ति अपरिहार्य हुन्छ। समग्र मुलुक (नेपाल) यसले अपनाएको शिक्षा नीति र अस्थिर राजनीति, साधन स्रोतको अभाव एवं शिक्षामा भएको राजनीतिक हावी र हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरुको स्तर विश्वका कैयौँ स्थापित विश्वविद्यालयहरुको तुलनामा ज्यादै तल रहेको स्पष्ट छ। देशको सबैभन्दा पुरानो एवं ऐतिहासिक विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय जुन रुपमा स्थापित हुनुपर्ने हो त्यस रुपमा यसले आफ्नो पहिचान कायम गर्न सकेको छैन।

कार्यक्रम, विद्यार्थी संख्या एवं भौतिक पूर्वाधारका कारण देशकै सर्वाधिक ठूलो एवं चर्चित पृथ्वीनारायण बहुमुखी क्याम्पस पनि त्रिभुवन विश्वविद्यालयकै एक आंगिक क्याम्पस भएकाले त्रिभुवन विश्वविद्यालयको नियम, ऐन कानुन, सीमा र परिधिभित्र रहनुका साथै मुलुकले अवलम्बन गरेको अस्थिर तथा अस्पष्ट शिक्षा नीतिबाट प्रभावित हुनु स्वभाविकै हो। यसका बाबजुद् पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य क्याम्पसहरुका तुलनामा पृथ्वीनारायण क्याम्पसले आफ्नो विशेष किसिमको शैक्षिक पहिचान कायम गर्न सकेको छ।

पृथ्वीनारायण क्याम्पसले आफ्नो जीवनको रजत जयन्ती वर्ष २०४२ भाद्र १७ मनाउँदा यस क्याम्पसमा १९ वटा शिक्षण विभागहरु थिए। तिनीहरुमा नेपाली, अङ्ग्रेजी, नेपाल परिचय, अर्थशास्त्र तथा गृहविज्ञान, भूगोल, इतिहास तथा संस्कृति, राजनीतिशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अध्यापन अभ्यास, भाषा सामाजिक अध्ययन, विज्ञान तथा स्वास्थ्य र शारीरिक शिक्षा, शिक्षा एवं कानुन शिक्षण समिति गरी २० शिक्षण समितिहरु (रजतजयन्ती स्मारिका २०४२ ः ४५–६२० रहेकोमा यसै क्याम्पसले आफ्नो स्वर्णजयन्ती मनाउदै गर्दा २०६७ अषाढ मसान्तसम्ममा २८ वटा शिक्षण विभागहरु सक्रियतापूवर्क शैक्षिक एवं प्राज्ञिक गतिविधिमा संलग्न रहेका छन्। (शैक्षिक प्रशासन पृ.ना. क्याम्पस)। पछि खोलिएको ९ विभागहरु यस प्रकार छन् ः नेपाली शिक्षा, फौजदारी कानुन, संवैधानिक/देवानी कानुन, तथ्याङ्क शास्त्र, व्यवसायिक अर्थशास्त्र तथा क्षेत्रगत व्यवस्थापन, समाजशास्त्र/मानवशास्त्र, सामाजिक अध्ययन, अङ्ग्रेजी शिक्षा र वातावरण विज्ञान शिक्षा। यसका साथै १७ वटा विषयमा स्नातकोत्तर तहको प्राध्यापन भएका विभागहरुमा विभागीय अनुसन्धान समितिहरु रहेका छन्। यो त्रिभुवन विश्वविद्यालयको नियम तथा निर्देशन अन्र्तगत पर्दछ। विभागीय अनुसन्धान समितिहरुले मुलतः मास्टर्स डिग्रीका विद्यार्थीको थेसिस लेखनको अभिमुखीकरण कार्यदेखि उनीहरुले लेखि बुझाएको थेसिसलाई आवश्यक परिमार्जन गर्न सुझाव दिने तथा विभागबाट प्रकाशित हुने जर्नललाई गुणस्तरीय बनाउने काम गर्दछन्।

अब यहाँ विभागीय अनुसन्धान तथा प्रकाशन सम्बन्धमा चर्चा गर्नुपूर्व क्याम्पसको पहलमा भए गरिएको अनुसन्धान एवं प्रकाशनबारे छोटो चर्चा गर्नु सान्दर्भिक ठान्दछु। २०७१ साल भाद्र १७ गते अस्तित्वमा आई २०१७ साल आश्विन ३ गते विधिवत् रुपमा उद्घाटन गरिएको पृथ्वीनारायण क्याम्पस (तत्कालीन पृथ्वीनारायाण कलेज) ले आफ्नो जीवनको ३ वर्ष पश्चात् २०२० सालमा विजया दशमीको पावन अवसर पारी पहिलो प्रकाशन माछापुच्छ«े पत्रिका प्रकाशित गरि खोजमूलक प्राज्ञिक गतिविधिको सुरुवात् गरेको देखिन्छ। नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा प्रकाशित उक्त पत्रिका क्याम्पसको मुखपत्रको रुपमा कायम गरियो। उक्त पत्रिकाको दोस्रो अंक पा्रध्यापकहरुको सम्पादकत्वमा प्रकाशित गरिएको थियो भने दोस्रो अंक विद्यार्थीहरुको सम्पादनमा प्रकाशित भएको पाईन्छ। (रजत जयन्ती स्मारिका, २०४२ ः ६५)। २०२५ सालमा माछापुच्छे«को तेस्रो अंक विद्यार्थीहरुको सम्पादनमा प्रकाशित भयो भने २०२६ देखि २०३२ सालको विचमा जम्मा २ अंक प्रकाशित भएको देखिन्छ। यी २ अंकको प्राज्ञिक स्तर पहिलेको अंकहरुको भन्दा कमजोर रहेको पाइन्छ (ऐजन)। वि.स. २०३३ सालमा अर्को अंक प्रकाशित भयो। यसपटक गत अंकहरुको जस्तो विद्यार्थीले गर्ने गरेको सम्पादन दायित्व प्राध्यापकहरुलाई दिइयो। जसको कारण पत्रिकाको स्तरमा वृद्धि आयो। २०३५ सालमा र २०३७ सालमा पनि माछापुच्छे« पत्रिका प्रकाशित गरिएन। तर सोही साल अर्थात २०३६ मै १३ जना प्राध्यापकहरुका अनुसन्धानात्मक रचना समेटी ४०० भन्दा बढी पृष्ठको जर्नल प्रकाशित भएको र उक्त जर्नल पृथ्वीनारायण क्याम्पसको त्यति बेला (२०३६) सम्मको प्राज्ञिक जीवनको स्तरीय एवं अनुसन्धानात्मक कृति रहेको उल्लेख गरेको पाईन्छ (ऐजन, ६६)। क्याम्पसको मुखपत्रको रुपमा कहिले प्राध्यापक, कहिले विद्यार्थी पुनः प्राध्यापकहरुको सम्पादनमा प्रकाशित भएको माछापुच्छे« पत्रिका यता आएर स्वतन्त्र विद्यार्थी यूनियनको मुखपत्रका रुपमा प्रकाशित हुने गरेको पाइन्छ।

वास्तविकतालाई आत्मसात गर्दा स्पष्ट हुन्छ कि विक्रम सम्वत् २०५० सम्मको क्याम्पसको लामो जीवनकालसम्म पनि खासै संस्थागत अनुसन्धानको स्पष्ट धारणा र आधारशीला तय भएको पाइदैन। पृथ्वीनारायण क्याम्पसको जीवनमा संस्थागत अनुसन्धानको पहलकदमीका दृष्टिले वि.सं. २०५१ एक कोशेढुङ्गाको रुपमा सावित भयो। यसको प्रथम श्रेय तत्कालीन क्याम्पस प्रमुख डा. नारायणदत्त नेपाललाई जान्छ। डा. नेपालले अनुसन्धानबिनाको अध्ययन–अध्यापन दरिलो, खँदिलो एवं नतिजामुखी हुँदैन भन्ने वास्तविक यथार्थलाई आत्मसात गरी अनुसन्धानको वातावरण सृजना गर्ने उद्देश्यले त्यतिबेला नै रु. १४,००,०००।– (चौध लाख रुपियाँ) अक्षयकोषमा राखी त्यसबाट प्राप्त व्याजको रकमबाट लघु–अनुसन्धान गराउने नीति तय गरे। आफ्नो उद्देश्यलाई व्यवस्थित रुपमा व्यवहारमा रुपान्तरीत गर्न उनले आफ्नै अध्यक्षतामा अनुसन्धान समिति पृथ्वीनारायण क्याम्पस गठन गरी क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई लघु–अनुसन्धानमा लगाई क्याम्पसको तथा स्वयं सम्बन्धित शिक्षकको प्राज्ञिक उन्नयन गर्ने वातावरण एवं अवसर प्रदान गरे। तत्कालीन क्याम्पस प्रमुख डा. नेपालको प्राज्ञिक सोंच, चिन्तन र त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने उनको अठोटकै प्रतिफल स्वरुप सुरुवात गरिएका लघु–अनुसन्धान परियोजनाबाट सुरुवात् देखि वर्तमान सम्मको इतिहासलाई नियाल्दा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत दर्जनौ शिक्षकहरुले आफ्नो प्राज्ञिक उन्नयन गर्ने सुअवसर प्राप्त गरे।

अनुसन्धान समितिका सुत्राधार डा. नेपाल लगाएत प्राध्यापक डा. वीरेन्द्रसिंह गुरुङ्गको समयसम्म क्याम्पस प्रमुख नै अनुसन्धान समितिको अध्यक्ष रहने प्रचलनलाई तोडी महेन्द्रभूषण थापा क्याम्पस प्रमुख बनेपछि अन्य प्राध्यापकलाई अनुसन्धान समितिको अध्यक्ष बनाउने परम्पराको थालनी भयो।

अनुसन्धान समिति, पृथ्वीनारायण क्याम्पसले शिक्षकहरुलाई लघु–अनुसन्धान गर्न अभिपे्ररित गर्ने मात्र काम नगरी लघु–अनुसन्धानका प्रतिवेदन एवं अन्य गहन एवं अनुसन्धानमूलक लेख रचनाहरुलाई पुस्तकाकारका रुपमा प्रकाशन गर्ने काम पनि भएको देखिन्छ। अनुसन्धान समितिको पहिलो प्रकाशन तत्कालिन अनुसन्धान समितिका सदस्य डा. राधेश्याम कायस्थको प्रधान सम्पादकत्वमा “पृथ्वी” को दोस्रो तथा तेस्रो संयुक्त अंक यहि पंक्तिकार (डा. दिलबहादुर क्षेत्री, जो अनुसन्धान समितिको तत्कालीन सदस्य सचिव समेत थियो) को प्रधान सम्पादकत्वमा वि.सं. २०५५ (सन् १९९८) मा प्रकाशित भयो। अनुसन्धान समितिले प्रकाशन गरेका यी तिनै अंक (संयूक्त अंक सहित) वास्तवमा गहन अध्ययन अनुसन्धानकै प्रतिफल रहे। तत्पश्चात् भने लघु–अनुसन्धान गराउने कार्यले निरन्तरता पाए पनि प्रकाशन गर्न सकिएको छैन। अनुसन्धान समितिले लघु–अनुसन्धान गराउनुका अतिरिक्त समय–समयमा विदेशी प्राध्यापकहरुलाई निम्त्याई अन्तक्रिया कार्यक्रम तथा सेमिनार–कार्यशाला कार्यक्रम पनि संचालन गर्दै आएको छ। अनुसन्धान समितिको वर्तमान कार्यसमिति प्रा.डा. देबेन्द्र बहादुर लामिछानेको अध्यक्षतामा गठन भएको छ।

विद्यमान २८ विभागहरुमध्ये १० वटा विभागहरु प्राज्ञिक अनुसन्धान गतिविधी संचालन तथा अनुसन्धानमुलक जर्नलहरु प्रकाशनमा लागि पर्दै आएको पाईन्छ। अब यहाँ अनुसन्धान एवं प्रकाशनमा लागि पर्दै आएका विभागहरुको बारेमा छोटो चर्चा गर्ने जमर्को गरिन्छ।

पृथ्वीनारायण क्याम्पसकै सबैभन्दा पुरानो विभाग अर्थशास्त्र विभागले आफ्नो विभागीय जर्नल Economic Literature प्रकाशन गर्दै आएको छ। यसको प्रकाशनमा निरन्तरता रहेको र उक्त जर्नल प्रकाशनमा विभागीय प्रमुख तथा अन्य प्राध्यापकहरु लागि परेका छन्। यो जर्नलको नवौँ अंक प्रकाशन भएको बताइन्छ (विभागीय प्रमुख, अर्थशास्त्र विभाग)। उक्त विभागले समय–समयमा कार्यशाला गोष्ठी, अतिथि प्रवचन तथा अन्य अनुसन्धानमूलक गतिविधिहरु संचालन गर्दै आएको देखिन्छ।

अनुसन्धानात्मक गतिविधिमा सक्रियतापूर्वक लागि पर्दै आएका विभागहरुमध्ये इतिहास तथा संस्कृति विभाग पनि अग्रपंक्तिमा पर्दछ। २०५१ मा स्नातकोत्तर तहको अध्यापनको १ वर्ष पुरा नहुँदै आफ्नो वार्षिक मुखपत्र प्रकाशन गर्ने आँट ग-यो। पृथ्वीनारायण क्याम्पसकै इतिहासमा स्नातकोत्तर तहको अध्यापन सुरु गरेको छोटो अवधिमा जर्नल प्रकाशनको पहल यो नै पहिलो देखिन्छ। अध्ययन–अध्यापन सुरु गरेको इतिहाँस विभागले आफ्नो विभागीय जर्नल Historia को पहिलो अंक वि.सं. २०५२ वैशाखमा प्रकाशन गरेको पाइन्छ। यसको प्रथम अङ्कका लेख रचना लगाएत proofreading मा समेत केहि कमजोरी रहेकोले त्यति स्तरीय देखिएन। तत्पश्चातका अंकहरु भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित विद्वान् प्राध्यापक एवं अनुसन्धानकर्ताका लेख रचनाहरु समावेश गरी प्रकाशन गरिएकाले यसले विद्व्त वर्गमा आफ्नो बजार लिन सकेको देखिन्छ। यसको प्रथम अंकदेखि प्रधान सम्पादक स्वयं यो पंक्तिकार रहेको र इतिहाँस तथा संस्कृति विभागकै एक सदस्यको नाताले पनि यो जर्नलको शुरुदेखि पछिल्लो अंकसम्मको स्तरबारे अवगत हुनु स्वभाविकै ठान्दछ। यो जर्नलको दशौँ अंक सम्म प्रकाशन भइसकेको र पछिल्लो अंक प्रेसमा छापिने अवस्थामा रहेको छ। यसलाई स्तरीय छपाई एवं अध्ययनयोग्य बनाउने कार्यमा विभागका सक्रिय सदस्य डा. ज्ञानबहादुर कार्की, जसले पछिल्ला अंकहरुको प्रधान सम्पादकको हैसियतले समेत भूमिका निर्वाह गर्दै आउनु भएको छ, को ठूलो मेहनत र परिश्रम परेको छ। यो जर्नलको प्रकाशन र यसको निरन्तरताको अलवा इतिहास तथा संस्कृति शिक्षण विभागले समय समयमा प्राज्ञिक अन्तक्र्रिया सेमिनार अतिथि प्रवचन समेतको कार्यक्रम गरी विभागीय सदस्यहरुको प्राज्ञिक उन्नयनबाट टेवा पु¥याएको छ। (विभागीय प्रमुखसँगको साक्षात्कार)। अध्ययन–अध्यापन तथा विभागीय अनुसन्धान गतिविधिमा सक्रिय भुमिका निर्वाह गर्ने विभागहरु मध्ये अङ्ग्रेजी शिक्षण विभागको आफ्नै Resource Centre समेत भएकाले पनि समसामयिक विषय र विधामा देशी एवं विदेशी विद्वानहरुलाई आमन्त्रण गरी अन्तक्र्रिया एवं अतिथि प्रवचन कार्यक्रम राख्ने गरेको पाईन्छ। अङ्ग्रेजी शिक्षण विभागले पहिलो English Bulletin प्रकाशन गर्ने गरेकोमा हाल Outlook: Journal of English Studies नामक जर्नल प्रकाशन गर्न थालेको छ (विभागी प्रमुखसँगको साक्षात्कारबाट प्राप्त जानकारी)।

पृथ्वीनारायण क्याम्पसका शिक्षण विभागहरुमध्ये पुरानो विभागमा भूगोल विभाग पनि पर्दछ। यस विभागले Geographical Information System (GIS) प्रोग्राम समेत संचालन गरेर स्वयं शिक्षक तथा विद्यार्थीहरुको प्राज्ञिक उन्नयनमा टेवा पु¥याउदै आएको छ भने आफ्नो वार्षिक मुखपत्रका रुपमा Himalayan Geographer नामक अनुसन्धानमुलक जर्नल प्रकाशन गर्दै आएको पाइन्छ। योे जर्नलको प्रथम अकं सन् २००१ मा प्रकाशित भएको पाइन्छ। सन् २००५ मा चौथो र पाचौं संयुक्त अङ्क प्रकाशन भए पश्चात् अन्य अङ्क प्रकाशन नभएको बुझिन्छ। उक्त प्रकाशित अङ्कहरु स्तरीय एवं अनुसन्धानमूलक रहेका छन्। भूगोल विभाग प्राज्ञिक एवं अनुसन्धानात्मक गतिविधिमा सक्रिय रहेको पाइन्छ (विभागीय प्रमुख डा. के.सि. तथा प्रा.डा. देवेन्द्र लामीछानेसँगको साक्षातकार)।

नेपाली विभाग पनि पृथ्वीनारायण क्याम्पसका शिक्षण विभागहरुमध्ये पुरानो तथा विद्यार्थी एवं शिक्षक संख्याको दृष्टिले एक ठूलो विभाग पर्दछ। यस विभागले आफ्नो वार्षिक मुखपत्रको रुपमा “पृथ्वी वाङमय” जर्नल प्रकाशन गर्दै आएको छ। वि.सं. २०५७ मा पहिलो अंकको रुपमा यस जर्नल प्रकाशित भइसकेको हाल प्रकाशित अङ्क ५ औं रहेको बताइन्छ (विभागीय प्रमुखसँगका साक्षतकारबाट प्राप्त जानकारी)। योे जर्नलले पनि आफ्नो प्राज्ञिक स्तर कायम गर्न सक्षम रहेको छ। नेपाली विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन गराइने र बहुसंख्यक शिक्षकहरु लामो अनुभव हाँसिल गरेका एवं विद्यावारिधिसमेत प्राप्त गरेका प्राध्यापकहरु भएकाले योे जर्नलको स्तर एवं अन्य अनुसन्धानमूलक क्रियाकलापमा नेपाली शिक्षण विभागले अग्रता हासिल गर्न सक्दछ।

अनुसन्धानमूलक जर्नल प्रकाशित गर्दै आएका विभागहरुमध्ये राजनितिशास्त्र विभाग पनि सक्रिय विभागका रुपमा परिचित छ। स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको यस विभागले आफ्नो वार्षिक मुखपत्रको रुपमा Journal of Political Science को पहिलो अंक २०५५ सालमा प्रकाशित गरेको देखिन्छ। विभागले आफ्नो अनुसन्धानमूलक जर्नल प्रकाशन गर्दै जाने क्रममा १० औं अंकसम्म प्रकाशन गरिसकेको छ (ठान बहादुर क्षेत्री विभागीय सदस्यसँगको साक्षत्कारबाट प्राप्त जानकारी)। उक्त जर्नलले पनि आफ्नो प्राज्ञिक स्तर कायम गरेको पाइन्छ। २०५० सालमा स्नातकोत्तर तहको अध्यापन सुरु गरेको विभागले २०५५ सालमा आएर अनुसन्धानमूलक जर्नल प्रकाशन गर्न सफल भएको देखिन्छ। जुन आफैमा एक सकरात्मक एवं सह्रानीय योगदान मान्न सकिन्छ।

अनुसन्धानात्मक गतिविधिमा सक्रिय विभागहरुमध्ये व्यवस्थापन विभागको नाउँ पनि अग्रपंङ्क्ति मै पर्दछ। वि.सं. २०४७ सालमा स्नातकोत्तर तहको अध्यापन थालनी गरेको यस विभागले आफ्नो वार्षिक मुखपत्रको रुपमा The Journal of Nepalese Business Studies जर्नलको पहिलो अंक सन् २००४ मा प्रकाशित गरेको देखिन्छ। उक्त जर्नलको ५ औं अङ्क प्रकाशित भइसकेको र पछिल्लो अङ्क छैटौं प्रकाशन भइसकेको र पछिल्लो अंक छैटौं प्रकाशन गर्ने तयारी भैरहेको बताइन्छ (अनुसन्धान विभागीय प्रमुख, व्यवस्थापन संकायसँगको साक्षत्कारबाट प्राप्त जानकारी)। यो जर्नलले स्वदेशी तथा विदेशी प्राध्यापकहरुको खोजमूलक लेख रचनाहरु प्रकाशित गरी आफ्नो प्राज्ञिक स्तर कायम गरेको छ। साथै यो जर्नल स्तरीय भएकोले Nepal Journals Online (NepJOL) मा राखिएको बताइन्छ (प्रा.डा. केशरजंग बराल, पूर्व विभागीय विभागीय प्रमुख व्यवस्थापन संकायसँगको साक्षत्कारबाट प्राप्त जानकारी)।

यस विभागले पनि समय–समयमा प्राज्ञिक अन्तक्र्रिया सेमिनार तथा कार्यशाला संचालनका साथै विद्यार्थीहरुलाई अभिमुखीकरण तालीम समेत दिदै आएको छ।

पृथ्वीनारायण क्याम्पस अन्तर्गतको शिक्षाशास्त्र सङ्काय अन्तर्गत पर्ने स्वास्थ्य र शारीरीक शिक्षा विभागको नाम पनि अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशन गर्ने विभागहरु मध्ये एक क्रियाशिल विभागमा पर्दछ। यस विभागमा स्नातकोत्तर तहको अध्यापन सन् २००७ मा आएर सुरुवात भएको भएपनि विभागले आफ्नो मुखपत्रको रुपमा HPE Forum जर्नल सन् २००१ देखि नै प्रकाशित गर्दै आएको देखिन्छ। यो जर्नलको नवौ अंक प्रकाशित भईसकेको र १० औं अङ्क प्रकाशनको तयारीमा रहेको जानकारी पाइयो (प्रा.डा. अशोक झा सँगको साक्षात्कारबाट प्राप्त जानकारी)। यस जर्नलले पनि स्वदेशी एवं विदेशी विद्वानहरुको विषयगत लेखरचना प्रकाशित गरी प्राज्ञिक योगदान पु¥याएको छ।

वि.सं. २०६० मा स्थापना भएको नेपाली शिक्षा विभाग पनि आफ्नो स्थापनाको छोटो अवधीमै अनुन्धानमूलक जर्नल प्रकाशन गर्न सफल भएको छ। पूर्व विभागीय अध्यक्ष डा. विष्णु प्रसाद पौडेलको सक्रिय पहलमा विभागको मुखपत्रको रुपमा “पृथ्वीदर्पण” जर्नलको पहिलो अंक २०६६ चैत्रमा प्रकाशित भएको छ। पहिलो अङ्क नै स्तरीय रहेको यस जर्नलको पहिलो खण्डमा अनुसन्धानमूलक लेख रचना र दोस्रो खण्डमा अनुसन्धान प्रतिवेदन लेखन, शोध प्रस्ताव र यसका अङ्गहरु, अनुसन्धानमा पूर्वकार्यको समीक्षा लगायतको शीर्षकमा विद्वानहरुको विश्लेषण सहितको अनुसन्धान सम्बन्धी ज्ञानवद्र्धक खुराक प्रकाशन गरी अनुसन्धानमा लाग्ने विद्यार्थी, शिक्षक तथा अन्य अनुसन्धानकर्ताका लागि महŒवपूर्ण बौद्धिक मार्गदर्शन प्रदान गरिएको छ। अनुसन्धानमूलक पत्रिका प्रकाशनमा अतिरिक्त यस विभागले २०६६ चैत्र २४–३० मा सप्ताहव्यापी राष्ट्रिय शोध अनुसन्धान गोष्ठी सञ्चालन गरी यस अभियानलाई अगाडि बढाउने काममा ठूलो भूमिका निर्वाह गरेको छ।

पूर्व विभागीय अध्यक्ष डा. ओझालागयत अन्य प्राध्यापकहरुको प्राज्ञिक सक्रियता र योगदानबाट प्रभावित भइ नेपाली शिक्षा विभागअन्तर्गत एम्.एड. (नेपाली) का प्रथम तथा द्वितीय वर्षका विद्यार्थीहरुको पहलमा “यात्रा” प्रकाशन गरिएको छ। उक्त पत्रिका समीक्षात्मक प्रकृतिको भएको र यसले पनि प्राज्ञिक स्तर कायम गर्ने नेपाली शिक्षा विभागका पूर्व प्रमुख डा. रामनाथ ओझाको विश्वास छ। विद्यार्थीहरुको यस किसिमको प्राज्ञिक उर्जा र जाँगरलाई अभिप्रेरित गर्नु हामी सबैको परम कर्तव्य हो।

पृथ्वीनारायण क्याम्पसका २८ विभागहरुमध्ये धेरै कान्छो विभागमा पर्ने समाजशास्त्र तथा मानवशास्त्र विभाग अनुसन्धानमूलक गतिविधिमा निकै अगाडि रहेको छ। यो विभागका पूर्व अध्यक्ष डा. विश्वकल्याण पराजुलीको सक्रिय पहलकदमी र विभागका अन्य सदस्यहरुको साथले यो विभागले देशी विदेशी विद्वान्हरुलाई समय–समयमा आमन्त्रण गरी बौद्धिक अन्तक्र्रिया, सेमिनार, वर्कशप, पेपर प्रिेन्जेन्टेसन लगायतका बौद्धिक एवं उर्जाशील कार्यक्रमहरु भइरहेको पाइन्छ। वि.सं. २०५९ मा छुट्टै रुपमा खोलिएको यस विभागले आफ्नो मुखपत्रका रुपमा Himalayan Journal of Sociology and Anthropology जर्नलको पहिलो अंक सन् २००४ मा प्रकाशित गरेको पाइन्छ। प्रत्येक २ वर्षको अन्तरालमा छापिदैँ आएको उक्त जर्नलको तेस्रो अंक सन् २००८ सेप्टेम्बरमा प्रकाशित भएको र पछिल्लो अंक प्रकाशनउन्मुख रहेको बताइन्छ (निवर्तमान विभागीय प्रमुख डा. पराजुलीसँगको साक्षात्कारबाट प्राप्त जानकारी)। यस विभागले प्रकाशित गरेको जर्नलको प्राज्ञिक स्तर कायम गर्दै आएको छ। जर्नलका अतिरिक्त यस विभागले यस क्षेत्रका Profile of Sociologists and Anthropologists in Pokhara प्रकाशन गर्नुका साथै सन् २००७ को डिसेम्बर १ र २ गते पोखरामा सम्पन्न सेमिनारमा प्रस्तुत कार्यपत्रहरुको proceedings पुस्तकारको रुपमा प्रकाशन गरेको छ जुन निकै बौद्धिक खुराक साबित भएको छ। समाजशास्त्र तथा मानवशास्त्र विभाग वास्तवमै पृथ्वीनारायण क्याम्पसमा रहेका विभागहरुमध्ये ज्यादै सक्रिय विभागका रुपमा स्थापित छ। यो विभागलाई यस किसिमको गति प्रदान गर्न समर्पित निवर्तमान विभागिय अध्यक्ष डा. विश्वकल्याण पराजुली र विभागीय सदस्यहरु धन्यवादका पात्र अवश्य नै छन्। किनकि कुनै एक विभागको क्रियाशिलता र गतिशीतला अन्य विभागहरुका लागि प्रेरणादायी बन्न सक्दछ।

नेपाली र नेपाली शिक्षा विभाग बाहेक अन्य विभागबाट प्रकाशित भएका जर्नलहरुको माध्यम, अङ्ग्रेजी वा नेपाली, अङ्ग्रेजी वा नेपाली, अङ्ग्रेजी जर्नलहरुको माध्यम अङ्ग्रेजी, एवं कुनैको नेपाली, अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको पाइन्छ।

पृथ्वीनारायण क्याम्पसका अध्ययन, अनुसन्धान एवं प्रकाशनको इतिहासलाई टेवा पु¥याउने निकायमध्ये त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ इकाइ समिति, पृथ्वीनारायण क्याम्पसको योगदान रहेको छ। प्राध्यापक संघ इकाइ समिति पृथ्वीनारायण क्याम्पसले आफ्नो २ वर्षे कार्यकालको अन्तिम वर्षमा आफ्नो कार्यकालको गतिविधिको झलकसहित विद्वान् लेखक प्राध्यापकहरुका अनुसन्धानमूलक लेखरचना समावेश गरी “प्राज्ञमञ्च” आफ्नो मुखपत्रका रुपमा प्रकाशित गर्दै आएको छ।

प्राध्यापक संघले वि.सं. २०७० मा “प्राज्ञमञ्च” को १२औँ अङ्क प्रकाशन गरिसकेको छ।

विद्यावारिधि प्राप्त गर्ने जनशक्ति
माथि नै उल्लेख भइसकेको छ कि पृथ्वीनारायण क्याम्पस, भौतिक पूर्वाधार, विद्यार्थी एवं मानव संशाधनका दृष्टिले मुलुककै सर्वाधिक ठूलो क्याम्पस हो। लामो र दर्विलो इतिहास बोकेको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुको कुल संख्या (शिक्षण सहायक, करार तथा स्थायी) करीब ६०० रहेको छ। उक्त विद्यावारिधि गर्ने ४२ प्राध्यापकहरुको नामावली यसप्रकार रहेको छः

अंग्रेजी
१. डा. सुनिता गुरुङ
२. डा. मानवबहादुर के.सी
३. डा. मीन पुन
४. डा. सरोज कोइराला

अङ्ग्रेजी शिक्षा
५. डा. तारादत्त भट्ट

नेपाली
६. प्रा.डा. रविलाल अधिकारी
७. प्रा.डा. पशुपतिनाथ तिमल्सेना
८. डा. कुसुमाकर न्यौपाने
९. डा. विष्णुप्रसाद पौडेल
१०.डा. यसनाथ तिमिल्सिना
११.डा. कृष्णराज अधिकारी

नेपाली शिक्षा
१२ डा. रामनाथ ओझा
१३ डा. रामचन्द्र पोखरेल
१४ डा. नरहरि उपाध्याय गौतम

भूगोल
१५ प्रा.डा. केदा बस्नेत
१६ प्रा.डा. देवेन्द्रबहादुर लामिछाने
१७ डा. कृष्ण के.सी


भूगोल शिक्षा १८ प्रा.डा. विश्व श्रेष्ठ

इतिहास
१९ प्रा.डा. दिलबहादुर क्षेत्री २० डा. दीर्घमान गुरुङ

इतिहास शिक्षा
२१ प्रा.डा. चन्द्रबहादुर थापा
२२ डा. ज्ञानबहादुर कार्की

अर्थशास्त्र
२४ प्रा.डा यादवप्रसाद शर्मा गौडेल
२५ डा. ओमप्रकाश शर्मा (काजमा)
२६ डा. लेखनाथ भट्टराई
२७ डा. कृष्णगोपाल पराजुली

अर्थशास्त्र शिक्षा
२८ प्रा.डा. विजयराज शर्मा

गणित
२९ प्रा.डा. कुष्णकुमार श्रेष्ठ

समाजशास्त्र/मानवशास्त्र
३० डा. विश्वकल्याण पराजुली
३१ डा. प्रकाश उपाध्याय

व्यवस्थापन
३२ प्रा.डा. केशरजङ बराल
३३ प्रा.डा. वेदनाथ शमा
३४ डा. कर्णवीर पौडेल
३५ डा. पुष्पराज शर्मा

प्राणी शास्त्र
३६. प्रा.डा. श्रीप्रसाद धौभडे (बेतलवी काजमा)

रसायन शास्त्र
३७ प्रा.डा. अक्कलदेव मिश्र

भौतिक शास्त्र
३८ डा. विनयकुमार झा

वनस्पति शास्त्र
३९ डा. चन्द्रबहादुर थापा

तथ्यांकशास्त्र
४० डा. विकास कुमार के.सी

विज्ञान शिक्षा
४१ डा. शोभाकान्त लामिछाने

स्वास्थ्य शारीरिक शिक्षा
४२ प्रा.डा. अशोककुमार झा

यसरी कुल शिक्षकहरुमा जम्मा ४२ जनाले मात्र विद्यावारिधि गरेको अवस्था अर्थात् केही शिक्षकहरु विद्यावारिधिमा लागिरहेको अवस्था पनि छ। हाल कार्यरत प्राध्यापकहरुको संख्या तथा नामावली यस प्रकार रहेको छः
प्रा.डा. मान बहादुर केसी, अंग्रेजी
प्राध्यापक राजेन्द्र प्रसाद तिवारी, अंग्रेजी
प्राध्यापक विश्वराज अधिकारी, अंग्रेजी
प्रा.डा पशुपतिनाथ तिमल्सेना, नेपाली
प्रा.डा देवेन्द्रबहादुर लामिछाने, भूगोल
प्रा.डा विश्व श्रेष्ठ, भूगोल
प्रा.डा दिलबहादुर क्षेत्री, इतिहास
प्रा.डा चन्द्रबहादुर थापा, इतिहास शिक्षा
प्रा.डा यादवप्रसाद शर्मा गौडेल, अर्थशास्त्र
प्रा.डा विजयराज शर्मा, अर्थशास्त्र शिक्षा
प्रा.डा कृष्णकुमार श्रेष्ठ, गणित
प्रा.डा केशरजङ्ग बराल, व्यवस्थापन
प्रा.डा वेदनाथ शर्मा, व्यवस्थापन
प्रा.डा प्राध्यापक श्रीप्रसाद धौमडेल, प्राणीशास्त्र

सह–प्राध्यापकहरुको कुल संख्या .................... रहेको देखिन्छ (शैक्षिक प्रशासन पृ.ना.क्या.)

निष्कर्ष तथा सुझाव
२ जना प्राध्यापक, १ जना कर्मचारी र १३ जना विद्यार्थीबाट आफ्नो जीवनको इतिहास थालनी गरेको पृथ्वीनारायण बहुमुखी क्याम्पसले स्वर्णजयन्ती पनि मनाइसकेको छ। करीब १२००० विद्यार्थी, कुल ......... शिक्षक एवं ११८ जना कर्मचारीहरु विद्यमान छन्। आफ्नो लालपुर्जामा आउन बाँकी २५० र ४९८ गरी ७४८ रोपनीको परिसर भएको क्याम्पस वास्तवमा साधन र श्रोतले कमी छ भन्न मिल्दैन। यसका बाबजुद पनि पृथ्वीनारायण क्याम्पस अझै विश्वविद्यालयको रुपमा रुपान्तरित हुन सकेको छैन। यो क्याम्पसको समग्र विकास, उत्थान एवं यसलाई विश्वविद्यालयमा रुपान्तरित गर्न विशेष किसिमको पहल र प्रयास गर्नु जरुरी छ।

क्याम्पसको विद्यमान भौतिक संरचना जस्तै भवनहरु, प्रयोगशाला एवं अन्य भौतिक सम्पत्तिको संरक्षण संवद्र्धनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। पंक्तिकार क्याम्पस प्रमुख हुँदा क्याम्पस प्रमुखको प्रशासनिक टिम समग्रमा क्याम्पस प्रशासनको संरक्षकत्व एवं स्वतन्त्र विद्यार्थी युनियनको पहल र सक्रियतामा निर्माण गरिएको ग्रिनस्पेस पार्क संरक्षण र रेखदेशको अभावमा भताभुङ्ग हुँदैछ। त्यसको संरक्षण व्यवस्थापन एवं स्वतन्त्र विद्यार्थी युनियन र यु.एन.डि.पी. बीच भएको सम्झौतालाई व्यवहारमा उतार्नु जरुरी छ। त्यसो गरिएमा ग्रिन स्पेस पार्क पोखरा उपत्यकामा मात्र नभई पश्चिमाञ्चल क्षेत्रकै पर्यटकीय स्थल बन्न सक्दछ। पार्क निर्माणको उद्देश्य पनि वास्तवमा त्यही नै थियो। यही पंक्तिकारको क्याम्पस प्रमुख कालमा निजको टिमको सक्रियतामा क्याम्पसको तल्लो भाग जो क्याम्पसको लालपुर्जामा समावेश गर्न बाँकी छ, त्यसलाई तारबार गरी वृक्षारोपण समेत भइसकेको जमिन यथासक्य छिटो क्याम्पसको नाममा दर्ता गराउनु नितान्त आवश्यक छ।

क्याम्पस परिसरभित्र रहेका भानु पार्क रहेको छ। क्याम्पस परिसरभित्रै रहेको ऐतिहासिक अन्नपूर्ण स्टेडियमलाई पनि व्यवस्थित गर्न जरुरी देखिन्छ।

क्याम्पसको दरबन्दीमा रहेका, तर बाहिर बेतलबी काजमा गएको आफ्नो दक्ष जनशक्तिलाई क्याम्पसले यथाशीघ्र फिर्ता बोलाउनु पर्दछ। दक्ष अर्थात् विद्यावारिधि गरेका (योग्य) शिक्षकहरुलाई क्याम्पसले सरुवा वा काजको सहमति दिनु हुँदैन।

शिक्षक कर्मचारीहरुलाई अध्ययन–अनुसन्धानमा संलग्न गराई उनीहरुको प्राज्ञिकतालाई चुस्त र समय सापेक्ष बनाउन क्याम्पस प्रशासनले तत्कालीन क्याम्पस प्रमुख नारायणदत्त नेपालले राखेको अक्षयकोषको रकमलाई वृद्धि गराउनु अत्यावश्यक छ। कम्तिमा पनि पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई एक सिफ्टमा एक ठाउँमा मात्र अध्यापन गराउनु पर्ने बाध्यात्मक व्यवस्था कायम गर्न सक्नुपर्दछ। यसका लागि क्याम्पस प्रशासन, व्यवस्थापन समिति, स्व.वि.यु. तथा अन्य विद्यार्थी संगठनहरुको ऐक्यवद्धता कायम हुनुपर्दछ। यस किसिमको व्यवस्था गर्न सकिए क्याम्पसको पठनपाठनमा स्तरीयता कायम हुन्छ।

क्याम्पस परिसरभित्र रहेको ऐतिहासिक अन्नपूर्ण म्यूजियमलाई ACAP सँग सरसल्लाह गरी अझै व्यवस्थित गरी त्यसको अध्ययन अवलोकनार्थ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई उपयुक्त टिकट दस्तुर लगाउनु पर्दछ जसले गर्दा क्याम्पसको आन्तरिक आम्दानीको स्रोतमा टेवा पुग्दछ।

अन्त्यमा, क्याम्पसको विद्यमान भौतिक संरचना र भविष्यमा निर्माण हुने संरचना व्यवस्थित तथा योजनाबद्ध होस् भन्ने उद्देश्यले यही पंक्तिकारको (क्याम्पस प्रमुख) कार्य अवधि (२०६३) मा बनाइएको मास्टर प्लानलाई कार्यान्वयनमा ध्यान दिनु जरुरी छ।

सन्दर्भ सामग्री
१) पृथ्वीनारायाण क्याम्पस रजतजयन्ती स्मारिका, (२०४२ भाद्र, १७)।
२) विश्व श्रेष्ठ र अन्य, (२०६४), पृथ्वीनारायण क्याम्पस, पोखरा समग्र भौतिक सम्पत्तिको विवरण।
३) क्याम्पस प्रशासनबाट प्राप्त तथ्याङ्क
प्रा.डा. नागेन्द्रलाल श्रीवास्तव निवर्तमान विभागीय प्रमुख अर्थशास्त्र विभागसँगको साक्षात्कारबाट प्राप्त जानकारी।
सहप्रा. श्री गुणाखर जैसी, निवर्तमान विभागीय प्रमुख इतिहास तथा संस्कृति विभागसँगको साक्षात्कारबाट प्राप्त जानकारी।
डा. मानवबहादुर के.सी., निवर्तमान अङ्ग्रेजी विभागीय प्रमुखसँगको साक्षात्कारबाट प्राप्त जानकारी।
निवर्तमान भूगोल तथा जनसंख्या विभागीय प्रमुख डा. कृष्ण के.सी. तथा स. क्या. प्र. प्रा.डा. देवेन्द्रबहादुर लामिछानेसँगको साक्षात्कारबाट प्राप्त जानकारी।
नेपाली विभागीय प्रमुख, सहप्रा. श्री कुलप्रसाद खनालबाट प्राप्त जानकारी।
निवर्तमान विभागीय प्रमुख सहप्रा. श्री ध्रुव के.सी लगायत उमानाथ बराल एवं ठानबहादुर क्षेत्रीबाट प्राप्त जानकारी।
व्यवस्थापनको अनुसन्धान विभागीय प्रमुख डा. पुष्पराज शर्मा तथा प्रा.डा. केशरजङ्ग बरालबाट प्राप्त जानकारी।
शिक्षाशास्त्र संकायका प्रा.डा. अशोककुमार झाबाट प्राप्त जानकारी।
समाजशास्त्रका निवर्तमान विभागीय प्रमुख डा. विश्वकल्याण पराजुलीबाट प्राप्त जानकारी।
शैक्षिक प्रशासन, पृ.ना.क्या. बाट प्राप्त तथ्यांकको प्रयोग।