Prithvi Narayan Campus, Pokhara, Nepal

सेमेष्टर प्रणालीसम्बन्धी तेश्रो तथा अन्तिम चरणको बहस सम्पन्न

त्रि.वि., पृ.ना.क्या., फाल्गुण ३ – पृथ्वीनारायण क्याम्पस अन्तर्गत रहेको राजनीतिशास्त्र विभाग र सयपत्री समाज, कास्कीको संयुक्त आयोजनामा “पृथ्वीनारायण क्याम्पसको स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली” विषयक तेश्रो तथा अन्तिम चरणको छलफल कार्यक्रम सम्पन्न भयो । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुकाबीच प्रतिनिधिमूलक रुपमा गरिएको उक्त छलफल कार्यक्रम गरिएको हो । यसअघि माघ २३ र २५ गते क्याम्पसमा कार्यरत प्राध्यापकहरु तथा कर्मचारीहरुबीच दुई चरणका छलफल कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

राजनीतिशास्त्रका विभागीय प्रमुख डा. उमानाथ बरालको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रमको उद्देश्य माथि विभागका सदस्य, सह प्राध्यापक ठानबहादुर क्षेत्रीले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अनेरास्ववियुका विजय पौडेलले नियमित विद्यार्थीहरुका लागि सेमेष्टर प्रणाली उपयुक्त भएतापनि रोजगार विद्यार्थीहरुका लागि असम्भव हुने उल्लेख गर्दै पुस्तकालयको पुनर्संरचनामा जोड दिनु पर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनका नेत्र चापागार्इंले विद्यार्थीसँग उठाइने शुल्क विद्यार्थी कै लागि खर्च हुनुपर्ने, गुणस्तरीय शिक्षाका लागि कुनै पनि प्रकारको सम्झौता गर्नु नहुने र सेमेष्टर प्रणालीको पूर्ण कार्यन्वयनका लागि ठोस योजना बनाउनु पर्ने कुरामा जोड दिनुभयो । अखिल (क्रान्तिकारी) का क्षितिज सापकोटाले शुल्क वृद्धि गर्न नहुने, छात्रवृत्तिको संख्या पहिलेको तुलनामा वृद्धि गर्दै जानु पर्ने भन्दै त्रि.वि.ले सेमेष्टर प्रणाली विना योजना जबर्जस्ती लागू गरेको दाबी गर्नुभयो ।

नेपाल विद्यार्थी संघका राजेश हमालले क्याम्पसमा सेमेष्टर प्रणालीको कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र र क्याम्पसको विचमा समन्वय हुन नसकेको भन्दै पुस्तकालय, प्रयोगशाला लगायत अन्य भौतिक पूर्वाधारहरु, शुल्क निर्धारण सहित सम्पूर्ण आधारभूत पक्षहरुको पूर्ण तयारीपछि मात्र सेमेष्टर प्रणाली लागू गर्नु पर्नेमा जोड दिए । त्यसैगरी M.Sc. (Physics) मा अध्यनरत आविष्कार सुवेदी र सविन गौतमले सेमेष्टर प्रणालीबाट उत्पादित जनशक्तिले विदेशी विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्षम हुने भएतापनि वार्षिक प्रणालीमा जस्तो एउटै विद्यार्थीले एक भन्दा बढि विषय वा डिग्रीमा भर्ना भै अध्ययन गर्न नमिल्ने भन्दै शैक्षिक प्रणाली नयाँ भएतापनि शिक्षकहरुले दिने नोट पुरानै भएको उल्लेख गर्नु भयो ।

उक्त छलफल कार्यक्रममा सागर खनाल, दिपक शर्मा, नरेन्द्र बसेल, कृष्ण अधिकारी, विष्णु पोख्रेल, सागर काफ्ले, सन्जय जैसी, प्रकाश ढुंगाना, सन्तोष पाण्डे, कैलाश बस्नेत, सन्तोष सापकोटा, लगायत अन्य विद्यार्थीहरुले आफ्नो विचार व्यक्त गरेका थिए । सयपत्री समाजका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले मूल प्रश्न भनेको good governance को हो, accountability को नै हो र fee structure reasonable हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो । कार्यक्रमको समापन गर्दै विभागिय प्रमुख डा. उमानाथ बरालले सेमेष्टर प्रणाली सम्बन्धी विद्यामान अन्यौलताको अन्त्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

 

कार्यक्रमको सञ्चालन सोही विभागका सदस्य गिरधारी सुवेदीले गर्नुभएको थियो । वहाँले अब तीनै चरणका छलफलको निष्कर्ष क्याम्पस प्रशासनसमक्ष प्रस्तुत गरिने जानकारी दिनुभयो ।

Published by: Dept of Pol. Sc.
Published on 2018-02-17

Download Full Text