Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण विश्वविद्यालय स्थापनार्थ गुरूयोजना बन्ने

त्रि.वि.– पृ.ना.क्या., माघ २१ – पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्न गुरूयोजना तयार गर्न एक समिति गठन गरि कार्य अगाडि बढाउने निर्णय गरिएको छ । क्याम्पस स्रोतका अनुसार सो गुरूयोजना एक महिनाभित्र तयार गरिने छ ।

समितिमा भूगोलविद्हरू प्रा.डा. कृष्ण केसी र खगेन्द्रराज पौडेल र इन्जिनियरहरूका तर्फबाट पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका दीपक थापा, नारायण तिमिल्सिना र बाबुराम भण्डारी रहनुभएको छ । भुगर्भविद् वनविज्ञान क्याम्पसका डा. रामप्रसाद शर्मा पनि समितिमा रहनुभएको छ ।

त्यसैगरि समितिमा क्याम्पसका तर्फबाट कानुनविद् प्राध्यापक हिमराज गिरी, आर्थिक प्रशासन प्रमुख चिरञ्जिवी थपलिया, मुख्य प्रशासक प्रेमलाल बराल, सामान्य प्रशासन प्रमुख केदारनाथ अधिकारी, व्यवस्थापन विषयका रेशमराज शर्मा, शिक्षा योजना तथा व्यवस्थापनका श्रीकृष्ण पन्थी, शिक्षाका खिमराज सुवेदी, इतिहाँस विषयका डा. दीर्घमान गुरूङ र नारायण ढकाल, विद्यार्थी कल्याण शाखा प्रमुख नेत्रनारायण पौडेल र पृ.ना. क्याम्पस अन्तर्गत रहेको QAA/Reform Unit का डा. मीन पुन रहनु भएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा, सहायक क्याम्पस प्रमुखहरू प्राध्यापक तारा खनाल, डा. वीरबहादुर कार्की र नन्दलाल अधिकारीलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको अध्यक्षतामा गुरूयोजना कार्यसमितिको प्रथम बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्ने क्रममा प्रा.डा. थापाले प्रदेस नं. ४ मा अवस्थित त्रि.वि. अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूसंग मिलेर यस क्याम्पसलाई राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउन पहल गरिने प्रतिबद्धता जाहेर गनुभयो । वहाँले अगाडि भन्नुभयो, “परिवर्तित सन्दर्भमा यस क्याम्पसलाई पनि परिवर्तित गर्न जरूरी छ ।”

समितिका सदस्य भूगोलविद् प्रा.डा. कृष्ण केसीले विश्वविद्यालय स्थापनार्थ क्याम्पसको अधिनमा भएको भूमिलाई सही तरिकाले उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भूगोल विभागमा अध्यक्ष रहिसक्नुभएका डा. केसीले हरेक दृष्टिकोणले क्याम्पसको भूमि विश्वविद्यालय निर्माणका लागि उपयुक्त छ भन्नुभयो ।

बैठकमा समितिका सदस्यहरू ईन्जिनियर थापा, तिमिल्सिना र भण्डारीका साथै भुगर्भविद् डा. शर्माले बोल्नुभएको थियो । त्यसैगरि व्यवस्थापन विज्ञहरू रेशमराज शर्मा र श्रीकृष्ण पन्थीले पनि आफ्ना विचार राख्नुभएको थियो ।

QAA/Reform Unit का संयोजक समेत रहनु भएका सह–प्राध्यापक डा. मीन पुनले गुरूयोजनालाई विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नुका साथै QAA प्राप्त गर्नमा उपयोग गरिने छ, भन्नुभयो । गुरूयोजनाले उच्च शिक्षालाई व्यवस्थित गर्नेछ र आर्थिक श्रोत जुटाउनमा समेत उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

बैठकले विविध पक्षका विज्ञहरू रहने गरि भौतिक योजना, व्यवस्थापकीय योजना, आर्थिक योजना र शिक्षण योजना समेत चारवटा उप–समिति गठन गरि कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

Published by: Administration
Published on 2018-02-04

Download Full Text