Prithvi Narayan Campus, Pokhara, Nepal

 Blog



QAA र नेपालको उच्च शिक्षामा सुधारका प्रयास

डा. मीन पुन

Published on 2018-05-17

गुणस्तर सुनिश्चितता (Quality Assurace) वा गुणस्तर नियन्त्रण (Quality Control) वस्तुको उत्पादन तथा सेवासंग जोडिएका शब्दावली हुन्। यी शब्दावलीहरू ISO ९००० ले वस्तुको गुणस्तर मापन गर्ने क्रममा प्रयोगमा ल्याइएका शब्दावलीहरू हुन् जसको अर्थ हुन्छ वस्तुको गल्ती अथवा दोषरहित उत्पादन गरि आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने। यसलाई उत्पादन गरिने देशको सरकार, सरकारद्वारा गठित कुनै अंग, उत्पादकहरूको संगठन वा ग्राहकहरूको संगठनमार्फत उपभोग गरिने वस्तुको गुणस्तरको सुनिश्चितता र मापन गर्नु हो।

सन् १९९० को दशकदेखि भएको विश्वव्यापीकरण र उदारीकरणको गतिविधिसंगै उच्च शिक्षामा ठूलो परिवर्तन आयो। यो परिवर्तनसंगै गुणस्तरको मापन हामीले उपभोग गरिने वस्तुमा मात्र सीमित राखेको छैनौं। हरेक देशमा भएका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू अन्तराष्ट्र्रिय प्रतिस्पर्धा गर्न वाध्य भए। त्यसैले अहिलेको विश्वविद्यालयहरू अन्तराष्ट्र्रिय बजारसंग जोडिएका छन्। जुन विश्वविद्यालयहरू अन्तराष्ट्र्रिय बजारसंग जोडिएका छन् तिनीहरूको अस्तित्व छ भनिन्छ अन्यथा नजोडिएका त्यस्ता संस्थाहरू स्वतः अस्तित्वहीन हुदै समाप्तितिर उन्मुख हुनेछन्।

अन्तर्राष्ट्रिय अभ्यास
उच्च शिक्षामा गुणस्तरीयताको मापन एवं सुनिश्चितताको बहस सन् १९९० को दशकबाट नै सुरूवात भएको देखिन्छ। यसको बहससंगै यसको अभ्यास सर्वप्रथम International Network for Quality Assurance Agencies in Higher Education (INQAAHE) नामक यूरोपियन विश्वविद्यालयहरूको साझा संगठनबाट सन् १९९१ मा सुरू भएर विभिन्न यूरोपियनका साथै पश्चिमा देशहरूमा भएको हो। सन् १९९२ मा अस्टे«लियाको सरकारद्वारा गठित Quality Assurance Program (QAP) लाई एक मान्न सकिन्छ। QAP ले अस्टे«लियन विश्वविद्यालयहरूको गुणस्तर मापनका साथै पूर्ण नियन्त्रण गरेको पाईन्छ। त्यस्तै सन् १९९४ मा कोरियामा Korean Council for University Education (KCUE) र भारतमा विश्वविद्यालय अनुदान आयोगअन्तर्गत रहेको National Assessment and Accreditation Council (NAAC) ले ती देशका उच्च शिक्षालाई कडाईका साथ गुणस्तर कायम गराउन पहल गर्ने गरेको छ। बंगलादेशमा पनि विश्वविद्यालय अनुदान आयोगमार्फत् उच्च शिक्षामा गुणस्तरीयता ल्याउन प्रयास गर्दछ।

UK सरकारले पनि सन् १९९७ देखि Quality Assurance Agency (QAA) ले उच्च शिक्षाको गुणस्तरसम्बन्धी मामला हेर्ने गर्दछ। केही वर्षअघि UK मा भएका केही कलेजहरू कार्यवाहीमा परि लाइसेन्स खोसिएको घटना ताजै छ।

उच्च शिक्षामा गुणस्तरीयतासम्बन्धी अर्को महत्वपूर्ण प्रयासको रूपमा सन् १९९९ को Bolonga Declaration लाई लिन सकिन्छ। यो युरोपियन विश्वविद्यालयहरूले प्रदान गर्ने उच्च शिक्षालाई प्रतिस्पर्धी बनाउनु पर्छ भन्ने मान्यतामा आधारित थियो जसअनुसार शिक्षामा गुणस्तरीयता र विश्वव्यापीकरण जस्ता गुणहरू आवश्यक थिए।

यिनै अन्तराष्ट्र्रिय सन्दर्भलाई मनन गरि नेपालमा सन् १९९० को राजनैतिक परिवर्तनसंगै तत्कालीन सरकारले सन् १९९३ मा विश्वविद्यालय अनुदान आयोगको गठन गरि नेपालको उच्च शिक्षाको मापन र सुधारका प्रयास भएका छन्। यिनैमध्ये विश्व बैंकको सहयोगमा सन् १९९७ देखि सन् २००२ सम्म पहिलो र सन् २००७ देखि सन् २०१४ सम्म दोस्रो उच्च शिक्षा सुधार परियोजना सम्पन्न भईसकेको छ भने तेस्रो उच्च शिक्षा सुधार परियोजना सन् २०१४ मा सुरू भई सन् २०२० मा सम्पन्न हुनेछ।

QAA के हो ?
विश्वविद्यालय अनुदान आयोगले गठन गरेको QAA Division द्वारा नेपालमा भएका उच्च शैक्षिक संस्थाहरूमा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण–पत्र प्रदान गर्ने प्रक्रिया नै QAA हो। QAA को विस्तृत रूप अंग्रेजीमा Quality Assurance and Accreditation र नेपालीमा “गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (प्रमाणीकरण)” हो। यसको अर्थ हुन्छ – विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरि नेपालमा भएका उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू जस्तै सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पस–कलेज वा समान अवस्थाका शैक्षिक संस्थाहरूले विश्वविद्यालय अनुदान आयोगद्वारा प्राप्त गरिने गुणस्तरको प्रमाण–पत्र लाई QAA भनिन्छ।

गुणस्तर मापन गर्ने संयन्त्र विभिन्न क्षेत्रमा विभिन्न प्रकारका अभ्यासहरू भएका छन्। जस्तो कि नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरीङ काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल, नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल, नेपाल भेटनेरी काउन्सिल, नेपाल वार काउन्सिल, र नेपाल फार्मेसी काउन्सिललाई लिन सकिन्छ। नेपालमा रहेका त्यस क्षेत्रसंग सम्बन्धित यी संस्थाहरू र तिनका कार्यक्रमहरूलाई निश्चित मापदण्डका आधारमा गुणस्तरीयताको प्रमाण–पत्र दिने गर्दछ।

QAA का उद्देश्यहरू
उच्च शैक्षिक संस्थाहरू QAA को प्रक्रियामा जानका मुख्य उद्देश्यहरू निम्न प्रकारका छन्।
१) संस्थाको शैक्षिक गुणस्तर कायम गराउने संयन्त्र बन्ने।
२) संस्था र आफूले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूको गुणस्तरीयताको प्रमाण दिनु।
३) संस्थालाई विश्व बजारमा चिनाउनु र विश्वका अन्य उच्च शैक्षिक संस्थाहरूसंग समदूरीता कायम गर्नु।
४) संस्थाले आफूसंग भएका सबल र कमजोर पक्षको मूल्यांकनका साथै अवसरको पहिचान गर्न सक्नु।
५) संस्थाका तर्फबाट देशको उच्च शिक्षामा विकास गर्नुका साथै देशको समग्र विकासमा टेवा दिनु।

QAA प्राप्त गर्ने प्रक्रिया
उच्च शिक्षा प्रदान गर्ने नेपाली संस्थाहरूले QAA प्रक्रियामा गई गुणस्तरको प्रमाण–पत्र लिन चाहेमा सर्वप्रथम विश्वविद्यालय अनुदान आयोगमा निवेदन दिनु पर्छ। निवेदनका आधारमा QAA प्रक्रियामा जान संस्थाले मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। यदि विश्वविद्यालय अनुदान आयोगले संस्थाको योग्यता पुगेमा QAA प्रक्रियामा जाने स्वीकृति (Letter of Intent) प्रदान गर्दछ।

QAA प्रक्रियामा जाने स्वीकृति (LoI) पाई सकेका संस्थाले दोस्रो चरणमा प्रवेश गरि स्व–अध्ययन प्रतिवेदन (Self Study Report), जसलाई छोटकरीमा SSR भनिन्छ, का लागि अध्ययन गरि प्रतिवेदनका साथ फाराम भरि विश्वविद्यालय अनुदान आयोगमा बुझाउनु पर्छ।

तत्पश्चात् विश्वविद्यालय अनुदान आयोगले विज्ञहरूको एक मूल्यांकन टोली (Peer Review Team) जसलाई PRT पनि भनिन्छ खटाउछ र QAA प्राप्त गर्न चाहने संस्थाले बुझाएको प्रतिवेदनको आधारमा सो संस्थाको भ्रमण गरि प्रतिवेदन अनुसार संस्थाको प्रमाणिकरण गर्दछ। तत्पश्चात् सो टोलीका सदस्यहरूले छुट्टाछुट्टै सिफारिस पत्र तयार गरि आयोगमा बुझाउछन्।

अन्तमा विश्वविद्यालय अनुदान आयोगले खटाएको विज्ञहरूको मूल्यांकन टोलीको सिफारिसको आधारमा आयोगको बैठकले QAA प्राप्त गर्न चाहने संस्थालाई QAA को प्रमाण–पत्र प्रदान गर्नसक्छ।

QAA का मापदण्डहरू
विश्वविद्यालय अनुदान आयोगले QAA को प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूलाई निम्न प्रकारका ८ वटा आधारहरूलाई मापदण्ड बनाई QAA को प्रमाण–पत्र प्रदान गर्दछ।
१) नीति नियमहरू (Policy and Procedures)
२) पाठ्यक्रमसम्बन्धी पक्ष (Curricular Aspects)
३) पढाई सिकाई र मूल्यांकन प्रणाली (Teaching Learning and Evaluation System)
४) अनुसन्धान, परामर्श र विस्तार (Research, Counselling and Extension)
५) भौतिक पूर्वाधार र सिकाईका स्रोतहरू (Infrastructure and Learning Resources)
६) विद्यार्थी हित र दिशानिर्देश (Student Support and Consultancy)
७) सूचना प्रणाली (Information System)
८) सार्वजनिक सूचना (Public Information)

QAA को प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरू यी माथिका आधारहरूलाई सुधार गरि उच्च शिक्षाको समग्र विकास र सबलीकरणको कार्यमा जुट्नु पर्छ।

QAA प्राप्त गरेपछिका फाईदाहरू
शैक्षिक संस्थाहरू जो QAA को प्रक्रियामा गई उच्च शिक्षामा विश्वविद्यालय अनुदान आयोगको गुणस्तरको प्रमाण–पत्र प्राप्त गर्न सफल हुन्छन् ती संस्थाहरूले विशेष गरि ३ किसिमका फाईदाहरू लिन सक्छन्।
१) QAA को प्रमाण–पत्र प्राप्त गरेका संस्थाले चलाएको शैक्षिक कार्यक्रमहरूमा भर्ना भएका विद्यार्थीहरूका साथै भर्ना हुन आएका विद्यार्थीहरूमा सुनिश्चितता आउने।
२) QAA को प्रमाण–पत्र प्राप्त गरेका संस्थाका प्राध्यापक तथा विद्यार्थीहरूको गतिशीलता बढ्नेछ किनकि QAA को प्रमाण–पत्र नै देश विदेशका अन्य उच्च शैक्षिक संस्थाहरूमा QAA को प्रमाण–पत्र प्राप्त गरेका संस्थाका प्राध्यापक तथा विद्यार्थीहरूको स्वीकार्यताको पहिलो प्रमाण हो।
३) QAA को प्रमाण–पत्र प्राप्त गरेका संस्थाका शैक्षिक कार्यक्रमहरूले देश विदेशका अन्य उच्च शैक्षिक संस्थाहरूमा मान्यता प्राप्त गर्नु हो। यसले QAA को प्रमाण–पत्र प्राप्त गरेका संस्थाका प्राध्यापक तथा विद्यार्थीहरूको गतिशीलतालाई बढाउँछ।

अन्तमा
विश्वविद्यालय अनुदान आयोगको हालैको बैठकले नेपालमा भएका संपूर्ण उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू अबको ५ वर्षभित्र QAA को प्रक्रियामा जानुपर्ने वाध्यात्मक निर्देशन दिईसकेको छ। जसअनुसार प्रक्रियामा नगई आफूलाई सुधार नगर्ने संस्थाहरू कारवाहीमा पर्नेछन्। यसबाट के स्पष्ट हुन्छ भने नेपालमा भएका हरेक उच्च शैक्षिक संस्था आफूले प्रदान गर्ने उच्च शिक्षामा सुधार ल्याई गुणस्तरीय बनाउदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुने खालको बनाउन जरूरी छ।

त्यसका लागि हरेक नेपाली उच्च शैक्षिक संस्थाहरूले आफूलाई समयसापेक्ष बनाउदै पुरानो धर्राबाट बाहिर निस्किई प्रविधि र नयाँ सिकाई विधिको उपयोग गर्दै परिवर्तित हुन जरूरी छ। समयसापेक्ष परिवर्तन आफू र आउँदो पिँढीका लागि हितकर हुन्छ। र उच्च शैक्षिक संस्थाहरूले उत्पादन गरेका जनशक्तिलाई देशको समग्र विकास गर्नमा समेत उपयोगी हुनेछ।

(लेखक QAA/Reform Unit, पृथ्वीनारायण क्याम्पस, पोखराका संयोजक हुनुका साथै अंग्रेजी विभागमा सह–प्राध्यापक हुनुहुन्छ।)